Logo
२८ पुस २०८१, आईतबार

कविता : प्रेम

अक्षरपाटी
२०७९ माघ २६ , बिहीबार ०८:०२ मा प्रकाशित

० अन्जु ‘अश्रु’

स्वार्थलाई मुर्दा बनाएर
विश्वासको आगोले जलाएपछि
बल्ल उत्पत्ति हुन्छ प्रेम

वासना र स्पर्श पुरिएका
खाल्टाहरूमा
आत्मियता र बलिदानका
बीजहरू रोपेपछि
उम्रन्छ प्रेम

प्रश्न जवाफ भन्दा बढी
मौनतामा जन्मन्छ प्रेम,

हरदम, हरपल, निरन्तर
यादका मिठा सुनामीहरूमा
डुब्नु,
सम्झनाका सुष्म आकृतिहरू
नियाल्दै वर्तमान जीवन स्वीकार्नु
न हो प्रेम

आदि, अन्त्य, मध्य कतै नदेखिने
दिएर नरित्तिने
लिएर नथाक्ने
अदभूत आनन्दको अनुभूति हो प्रेम

जहाँ, प्रेमले प्रेम पाउँछ
त्यहाँ, प्रेमको यात्रा सकिन्छ
पाउँनु मात्र होइन् प्रेम
प्रेम गुमाउँनु
प्रेमको निरन्तरता हो

त्याग अनि बलिदानका
स्मरणहरूमा
कहिले मुस्कुराउनु
कहिले रुनु
खुसी, उदासीनता
यी सबै बिम्बहरू
प्रेम नै त हो

सजिलै पाउँदैन
जो कोहीले साँचो प्रेम
कृष्णको प्रेम पनि त
बलिदान थियो
प्रेमको गन्तव्य जीवनभर
कहाँ टुंगियो र राधाको पनि
मुना मदनको अन्तिम सास
प्रेममा नै त सक्कियो
त्यसैले त अमर रहे
यी प्रेमहरू

प्रेम प्राण रहुन्जेल
जीवन डोर्‍याउने माध्यम हो
भेट्दा उत्साह र छुट्दा नैराश्य
बीचको परिणाम हो प्रेम

दिलप्रति दिलको झुकाव
पोखिएर भरिएका स्मृतिका
पानाहरूको प्रमाण हो प्रेम
अन्तर हृदयमा सँधै जीवित
रहने स्मारक हो प्रेम !!!