Logo
८ पुस २०८१, सोमबार

डा सुमित्रा : जो बनिन् जहिल्यै अब्बल

अक्षरपाटी
२०७९ फागुन १ , सोमबार ०७:०२ मा प्रकाशित

काठमाडौं १ फागुन। भक्तपुर अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा रहेकी डाक्टर सुमित्रा गौतम पढाइमा मात्र होइन सेवामा पनि अब्बल सावित हुँदै आएकी छन्।

कोभिड महामारीमा उत्कृष्ट सेवा प्रदान गरेर अस्पताललाई नै प्रथम स्थान दिलाएकी डा गौतम ११ औं तहमा पनि एक नम्बरमै बढुवा सिफारिस भएकी छन्।

लोक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा प्रथम हुँदै उनी ११ औं तहमा बढुवा सिफारिस हुन सफल भएकी हुन्।

प्रमुख अब्स्ट्रेटिक्स एण्ड स्त्रीरोग विशेषज्ञ पदमा लोक सेवा आयोगले लिएको परीक्षामा सो पदका लागि डा गौतम पहिलो नम्बरमा सिफारिस भएकी हुन्।

उनीसँगै दोस्रो नम्बरमा डाक्टर डा भक्तबत्सल राउत उतिर्ण भएका छन्। डा निशा राइ बैकल्पिकमा छन।

डा गौतमको प्रशासनिक नेतृत्वमा भक्तपुर अस्पतालले काचुली फेरेको छ। उनकै पहलमा अस्पतालमा आइसीयू, एचडीयू, एनआईसीयूलगायत सेवा प्रारम्भ भएका हुन्।

कुनै समय रेफरल अस्पतालका रुपमा चिनिने भक्तपुर अस्पताल डा सुमित्राको नेतृत्वमा आएदेखि भरोसापूर्ण अस्पतालका रुपमा रुपान्तरण भएको हो।

१ सय १७ वर्षपछि उनकै पहलमा आईसीयू, एचडीयूलगायत सेवा प्रारम्भ गरेको हो। गरिब र जेष्ठ नागरिकका लागि उपचार निशुल्क गरिएको यस अस्पतालमा दुरबिन विधिबाट शल्यक्रिया भित्र्याइसकिएको छ।

अल्जाइमर्सको उपचार र स्मरण शक्ति बढाउने थेरापी पनि अस्पतालमा सुरु भएको छ। सहुलियत फार्मेसी संचालनमा ल्याए श्रेय समेत डा सुमित्रालाई जान्छ।

कोरोना महामारीमा उनकै नेतृत्वमा रहेको भक्तपुर अस्पतालमा उपचारका लागि आउने विरामीका लागि डा सुमित्राले आफै खटिएर अक्सिजनको जोहो समेत गरेकी थिइन्।

जस कारण अस्पताल बागमती प्रदेशकै सबैभन्दा उत्कृष्ट अस्पातलका रुपमा पुरस्कृत भएको थियो।

तर यो सबै हुनुमा अस्पतालमा दिनरात नभनी खट्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सरसफाइकर्मीदेखि सहयोगीसम्मको देन रहेको डा गौतम बताउँछिन्।