काठमाण्डौ । काठमाण्डौको गोङ्गबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको तोडफोड र लुटपाट तथा प्रहरी बिटमा आगजनी गर्ने कार्यमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएको सोमवार यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शनका क्रममा भएको घटनामा संलग्नहरूलाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु र महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरू धेरैजसो चालक सहचालक र यसअघि विभिन्न आपराधिक घटनामा संलग्न रहेका छन् ।
पक्राउ पर्नेहरूमा काभ्रेको पाँचखालका सहचालक सुरज मगर, उदपुरको चौदण्डी घर भएर ज्याला मजदुरी गर्ने रितेश बस्नेत, मोरङको बेलबारी घर भएर ज्याला मजदुरी गर्ने यमन राई रहेका छन् ।
यस्तै आगजनी र तोडफोडमा संलग्न नुवाकोटको ककनी घर भएका विद्यार्थी सुनिल कालिकोटे, काठमाण्डौको माछापोखरीका व्यापारी रोमन नगरकोटी, नुवाकोटको ककनी घर भएका विद्यार्थी सुदिप तामाङ, काठमाण्डौको माछापोखरीका व्यापारी माधव शाही, नुवाकोटको सूर्यगढी घर भएका सहचालक केशर राई र सिन्धुलीको सिन्धुलीगढी घर भएका सहचालक इन्द्र तामाङ पक्राउ परेका छन् । यस्तै प्रहरीले धादिङको नीलकण्ठ घर भएका चालक ईलाराज गुरुङ, उदयपुरको उदयपुरगढीका सहचालक राजन राउत, काभ्रेको नमोबुद्ध घर भएका चालक हरिशरण तामाङ, धादिङको नीलकण्ठ घर भएका सहचालक विकाश गुरुङ, चितवनको रत्ननगर घर भएका चालक संविधान परियार र काठमाण्डौको समाखुसी घर भएर होटलमा वेटरको काम गर्ने कविन खड्गीलाई पक्राउ गरेको छ ।
प्रहरीले हिजै ल्होत्से मलमा लुटपाट गर्ने चार जना तथा प्रहरीका दुई वटा भ्यान र प्रहरी बिट जलाउने छ जनालाई पक्राउ गरिसकेको छ ।