Logo
१३ वैशाख २०८१, बिहीबार

प्रतिभालाई न भुगोलले छेक्छ, न गरिबीले रोक्छ

अक्षरपाटी
२०७९ फागुन ५ , शुक्रबार ०६:०२ मा प्रकाशित

सुरज पण्डित चर्चित गीत रेलको बाटोको गायक तथा संगीतकार हुन् ।

२०६८ सालदेखि गायन क्षेत्रमा सक्रिय जुम्ला चन्दननाथ नगरपालिका ४ मालाभिडका पण्डितको माया गर्ने जीवनसाथी, ए मेरी टुल्की नलाइ बाडुल्की, तम्रा मनमालगायत २ दर्जनभन्दा बढि गीत चर्चित छन् ।

जुम्ला हुँदै काठमाडौंसम्मको यात्रामा भोगेका दुख र गरेको संघर्षको कथा पण्डितले कर्णाली उत्सवको चौंथो संस्करण अन्तर्गत शुक्रबारको शत्रमा सुनाए ।

आफ्नाबारे यसरी बोले गायक सुरज

गायक बन्छु भन्ने सपना मेरो जीवनका लागि सायदै कल्पनाको विषय थियो । जुन घरबाट म यहाँ आइपुगेको छु, त्यो कर्णालीको भोगाइ हो ।

दुई आमामध्ये जेठी आमाको म कान्छो छोरा हुँ । सानोमा बुवाले मेरी आमालाई म २ वर्षको हुँदा छुट्याएर राख्नुभएको भनेर मलाई आमाले भन्नुहुन्थ्यो।

हामी बस्ने घरको आटीमा पानी चुहिन्थ्यो । आमाले चुहिनो छानो टालिरहनुभएको हुन्थ्यो । हामी विहान उठ्दा आमाले गीत गाइरहेको हुनुहुन्थ्यो । कैयौँ रात मकैबारीमा भालुले मकै खान आउँदा आमा डरले तीनवटा बच्चालाई काखमा राखेर रोएको अझै याद छ ।

बुवालाई यो कुरा सुन्दा दुख त लाग्ला तर छोरालो वास्तविक कथा सुनाइरहेको छ, बुवा मलाई माफ गर्नुहोला । मेरो घरमा एक हप्तामा भात खाने पालो मेरो घरमा एकदिनमात्रै आउँथ्यो।

खाद्य संस्थानले हप्तामा एकपटक बाँड्ने १० किलो चामल लिने हैसियत मेरो आमाको रहेनछ । हामीले मकै र जौको भित्री भागलाई चामल सम्झेर, भात सम्झेर खान्थ्यौं । आमाले देखाएको बाटोमा आज म यहाँ छु भन्दा मलाई खुसी लाग्छ।

मेरो बुवाले कर्णाली प्राविधिक शिक्षालयमा क्यान्टिन चलाउनुहुन्थ्यो । त्यतिखेर मैले अनामनगरको कर्णाली माविमा कक्षा ६ मा पढ्थे। मैले बुवासँग बुवा मेरो कापी र कलम सकिएको छ किनिदिनुस भनें।

बुवाले मेरो ब्यापार भएको छैन अर्को हप्ता आ भनेर पठाउनुभयो । पछि फेरि त्यही स्कुलमा बुवाले महिनाको सय रुपैयाँ पनि फि तिरिदिन नमानेपछि मैलै स्कुल नै परिवर्तन गरेर अर्को श्री रत्न चण्डेश्वर उच्च माविमा भर्ना हुन गएँ।

त्यसबेलै मैले ढुंगा फुटाएर ट्याक्टरलाई बेचेर वाकमेन र दुई जोर ब्याट्री किने । संगसंगै स्वरसम्राट नारायणगोपालको गितिश्रद्धाञ्जली भाग २ किने । मैले पहिलोपटक नारायणगोपालको गीत लौ सुन म भन्छु मेरो रामकहानी भन्ने गीत सुनेको थिएँ।

त्यसपछि गीतसंगितप्रति मेरो मोह बड्दै गयो । त्यतिखेर नेपाली तारा जस्ता कार्यक्रम टेलिभिजमा आउँथे । तर टिभि थिएन, म त्यही कार्यक्रम हेर्न छिमेकको घरमा जाँदा ढोका नै थुनिदिए । त्यसपछि मैले फेरि ढुंगा र गिटी फुटाएर १२ इन्चको ब्लयाक एण्ड ह्वाइट टिभी किने।

एकदिन दिउँसो एक बजे स्कुलमा हाफ टाइमको समय चलिरहेको थियो । त्यतिखेर मैले कक्षाकोठाभित्र बसेर गीत गाइरहेको रहेछु। मेरा शिक्षक पूर्णप्रसाद धिताल सरले सुनेपछि फेरि गाउ भन्नुभयो।

मैले पछि स्कुलको वार्षिकोत्सवमा पनि गीत गाएँ । त्यो मेरो पहिलो स्टेज थियो र उहाँ नै मेरो पहिलो गुरु बन्नुभयो । स्टेजमा जाने मोह बड्दै गयो । मलाई ज्युँदो श्रीमानको विधुवा आमाको छोरा हुनुपर्छ भन्ने लाग्न थाल्यो।

म नेपालगञ्जमा भएको मध्यपश्चिमाञ्चलस्तरीय छैठौं राष्ट्रिय खेलकुदमा सहभागी भएर स्वर्णपदक जितें। तर धनगढीमा भएको राष्ट्रियस्तरको खेलकुदमा भने सहभागी भए पनि स्वास्थ्यका कारण पुरस्कार जित्न सकिन।

सायद मेरी आमाले खुवाएको जौको भातले काम गरेन। खेलाडी बन्ने मेरो सपना पुरा हुन सकेन मैले दौडिने सपना त्यही रोकें।

२०६८ मा पदम रोकाय एकल साझ जुम्लामा भइरहेको थियो । मैले त्यहाँ एकपटक गीत गाउने अबसर दिनुस भनेर मागें । त्यसबेला राजधानीबाट आएका कलाकारभन्दा मेरो प्रस्तुतिले त्यहाँ आएका मान्छेको मन छोएछ।

त्यसबेलै रोकायले मलाई एउटा गीत रेकर्ड गर्न दिन्छु काठमाडौं आउनुस भन्नुभयो। मैले ३५ हजार लगानीमा माया गर्ने जीवनसाथी भन्ने गीत रेकर्ड गरें।

त्यतिखेर अडियोमात्रै चल्यो, त्यसको मुनाफाले मेरो जिन्दगी चलिरहेको छ, भलै आर्थिक मुनाफा हुन सकेन। नामको पछि दौडिएर जीवन वर्वाद नगर भन्नुहुन्थ्यो आमाले, तर एकदिन पक्कै खुसी फर्किन्छ होला भन्ने लागेरै मैले संगीत छोड्न सकिन।

पहिलो गीत चलेपछि संगीतप्रतिको मेरो झुकाव झन बढ्यो । तर काठमाडौंमा बसिरहने अवस्था थिएन। म जुम्ला फर्किने तयारी गरिरहेका बेला एक दिन साथी खड्कजीत रोकायसँग भेट भयो, उनले कलाको सम्मान गर्नका लागि जुम्ला नपठाउनुस् भनेर एकजना रमेश भण्डारी दाइसँग आग्रह गरे। उहाँले म जागिर खोजौंला भन्नुभयो, म जुम्ला फर्किएँ।

तर निकै समय खबर आएन। एक दिन म धार्मिकस्थल ठाकुरज्यू र विष्टज्यूमा गएर मलाई काठमाडौं जाने अवसर जुटाइदिनुस् भनेर फर्किदै थिएँ, आधा बाटो नपुग्दै रमेश दाइको फोन आयो। उहाँले काम मिल्यो काठमाडौं आउ भन्नुभयो। मैले सडक डिभिजन कार्यालयमा काम सुरु गरेँ।

तर असोजसमा भर्ना भएको मान्छे पुससम्म पनि तलब आएन, काम के हो भन्ने मेसो पनि पाउन सकिन। पुसदेखिमात्रै मैले काम गर्न पाएँ। चार महिनाको तलब एकैचोटी आउँथ्यो, कोठाभाडा तिर्ने कसरी, संगीत क्लास जाने कसरी भन्ने चिन्ताले नै पिरोल्थ्यो ।

२०७६ फागुन २८ गते विहानको कुरा हो । मैले संगीत साधना गरिरहेको बेला धुन निस्कियो। त्यसबेला शहरमा रेलको खुब चर्चा थियो।

काठमाडौंमा रेलको कुरा हुँदै गर्दा कर्णालीमा मोटरबाटोको सम्म परिकल्पना गरिएको थिएन, त्यो कुराले मलाई पिरोल्थ्यो।

मेरो भोगाइ झलझल्ती आँखामा आउँथ्यो। त्यही संगीतलाई साथ दिने शब्द खोज्दा मैले रेलको बाटो बन्दै छ रे रेल चढौला नेपालैमा हुम्ला मोटरबाटो छैन के चढौंला हिमालैमा भन्ने शब्द कोरें।

त्यसपछि यी शब्द मैले साथी लेखराज गिरीलाई पठाएँ। त्यसमा कर्णालीको सबै अवस्थाको खाका पठाएको थिएँ। उहाँले चैत १ गते गीत पुरा गरेर पठाउनुभयो। गीत, रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरैमा, हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा भयो।

अहिले मलाई लाग्छ संसारमा सबैभन्दा ठूलो इच्छाशक्ति हो, इच्छाशक्ति ठूलो भयो भने एक दिन पक्कै सफल हुन सकिन्छ। न भुगोलले छेक्छ, न गरिबीले रोक्छ।

रेलको बाटो पुग्दै छ रे... सुरज पण्डित