Logo
१ माघ २०८१, मंगलबार

नेपाल आठ वर्षपछि विश्वकमा

अक्षरपाटी
२०७९ फागुन १८ , बिहीबार ०८:०३ मा प्रकाशित

काठमाडौं १८ फागुन। १९ वर्ष मुनीको आईसीसी विश्वकपमा नेपाल छनोट भएको छ।

एसियाली छनोटमा च्याम्पियन बन्दै नेपाल २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनीको विश्वकपमा छनोट भएको हो।

आज भएको लिगको अन्तिम खेलमा यूएईमाथि नेपालले ७ रनको रोमाञ्चक जित निकालेको हो।

नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको यूएईले ४८ ओभरमा अलआउट हुँदै १ सय ८४ रन मात्र बनायो।

यूएईका लागि इथान काल्लले ६६ बलमा ५० रन बनाउँदा आर्यान सक्सेनाले ३४ रन बनाए। आर्यान्स शर्माले ३२ तथा अम्मर बदामीले १९ रन बनाए । युएई एक समय सात विकेट गुमाएर १८४ रन बनाउँदै जित नजिक पुगेको थियो। उसलाई जित्न १५ बलमा मात्र ८ रनको आवश्यकता थियो।

युएईले सात मात्र जाड्न सकेको अवस्थामा पनि खेल टाइ हुने थियो। टाइ भएको अवस्थामा रनरेटमा अगाडि रहेको युएई च्याम्पियन बन्दै विश्वकपमा छनोट हुने थियो। तर त्यही समय बलिङमा नेपालमा दिपेश कँडेल आए। उनले ४८ औँ ओभरको चौथो, पाँचौ र छैटौँ खेलमा विकेट लिँदै ह्याट्रिक मात्र गरेनन् नेपाललाई विश्वकपमा प्रवेश गराइदिए। दिपेशले पाँच विकेट लिए।

२०१६ को विश्वकप पछि पहिलो पटक नेपाल विश्वकपमा छनोट भएको हो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो ।

नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए । देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए । केसीले ५ चौका प्रहार गरेका थिए । उत्तम थापा ३६ रन बनाएर आउट भए । ६ ओभर १ बलमा ३ विकेट गुमाईसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।

दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए । नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका थिए । अर्का ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका छन् ।

यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २र२ विकेट लिए । हर्षित देसाइँ र अम्मर बदामीले समान १–१ विकेट लिएका छन्।

यो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा आयोजना हुने यू–१९ पुरुष विश्वकपमा सहभागीता जनाउने भएको छ।