Logo
१३ वैशाख २०८१, बिहीबार

कम्युनिस्ट मोर्चा बनाउने माओवादी तयारी, दाहाल भन्छन्ः एमालेमा पनि पुरानै नेकपा चाहनेहरु छन्

अक्षरपाटी
२०७९ फागुन २७ , शनिबार ०६:०३ मा प्रकाशित

काठमाडौं २७ फागुन। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै माओवादी धारका कम्युनिस्ट घटकहरुको मोर्चा बनाउने बताएका छन्।

दाहालले २०७६ माघ १ गते दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि विभिन्न धु्रबमा बाँडिएका कम्युनिस्ट घटक एकै ठाउँमा आउने प्रयत्नमा छन्।

आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै दाहालले समाजवादी मोर्चा बन्ने र त्यसैको जगमा कम्युनिस्ट एकताको पहल थालिने बताए।

‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन’, प्रधानमन्त्रीले दाहालले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।’

उनले यसका लागि माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको बताए। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्ने बताए।

उनले यसका लागि आइतबार संयुक्त अपील गर्ने समेत बताए।

‘संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त छन्। चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ। बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ’, उनले भने।

समाजवादी मोर्चा बनेपछि कम्युनिस्ट पार्टीहरूको एकताका लागि पनि आधार सिर्जना हुने उनको विश्वास छ।

उनले एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थीहरूको एकताको पक्षमा भएको उनले बताए। हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ भएको उनले बताए।

‘त्यो मत क्रान्तिको हितमा छ, कम्युनिस्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ’, उनले भने,’एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली ग¥यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्।’

पुष्पकमल दाहाल