Logo
१३ वैशाख २०८१, बिहीबार

चैत ६ मा विश्वासको मत, १० गते भित्र मन्त्रिमण्डल विस्तार

अक्षरपाटी
२०७९ चैत्र ४ , शनिबार ०८:०३ मा प्रकाशित

काठमाडौं ४ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ६ गते विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने तयारी गरेका छन्।

उनले विश्वासको मत लिएपछि चैत १० गतेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी छलफल अघि बढाएको बताइएको छ।

दाहाल नेतृत्वको सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पछि एक दर्जन भन्दा बढी मन्त्रालय रिक्त छन।

तीनवटा पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले वन तथा वातावरण, युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला, अर्थ, कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्‌ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा मन्त्रालयको नेतृत्व आफैले सम्हालिरहेका छन्।

प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल विस्तारका बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो संसद भवनमा छलफल थालेर चैत १० गते भित्र सरकारलाई पूर्णता दिने बारेमा छलफल अगाडि बढाएका हुन्।

दाहालका अनुसार सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रीमण्डल विस्तारका लागि भागबन्डाको काम विश्वासको मत लिएपछि अघि बढनेछ।