काठमाण्डौ। प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेञ्चमा बसेका छन् । यसअघि पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले सत्तापक्ष र कांग्रेस प्रतिपक्षमा बस्दै आएकोमा सत्ता गठबन्धन फेरिएसँगै आजदेखि बेञ्च पनि फेरिएको हो ।
नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक आज बसेको प्रतिनिधि सभा बैठकमा एमाले र राप्रपा दुवै दल प्रतिपक्षको बेञ्चमा बसेका छन् । प्रतिनिधि सभामा प्रतिपक्षीको आसन सभामुखको बायाँतर्फ र सत्तापक्षको दायाँतर्फ रहन्छ ।
नेपाली कांग्रेस र एकीकृत समाजवादी सत्तापक्षको बेन्चमा बसेका छन् । यी दुवै दलले यसअघि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको भए पनि सरकारमा सहभागी नभएको भन्दै प्रतिपक्षको बेञ्चमा बस्दै आएका थिए । दुवै दलले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वास मत लिँदै हुनुहुन्छ ।