काठमाडौं ८ चैत। पैसा लिएर लिएर तिब्बती शरणार्थीलाई नागरिकता बनाउने गैह्रकानुनी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका पाँचसहित ११ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानले गैरनागरिकलाई नागरिकता दिलाएको आरोपमा पाँच जना र वानएक्स बेटमार्फत सट्टेबाजी गराउने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
तिब्बतीयन शरणार्थीलाई नागरिकता दिलाउने झापा घर भई इमाडोल बस्ने ४७ वर्षका कृष्णबहादुर कटुवाल, बबरमहल घर भई मध्यपुर ठिमी बस्ने ७० वर्षीय न्युल्केश श्रेष्ठ, मोरङका धोबीघाट बस्ने ४९ वर्षीय हिरालाल शिवाकोटी, तनहुँका तिब्बतीयन शरणार्थी क्याम्पमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र गोदावरी बस्ने ३० वर्षीय विजय लामालाई प्रहरीले सार्वजनिक गरेको हो।
उनीहरुबाट विभिन्न सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखतको नमुना र तिब्बतीलाई दिलाएको सक्कली नागरिकता, जन्मदर्ता, विवाह दर्ता, डिभोर्स कागज आदि बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले वानएक्स बेटमार्फत सट्टेबाजीमा संलग्न भएको आरोपम पक्राउ परेका अन्य ६ जनालाई पनि सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार सिंह, वर्ष ३२ का वासुदेव पाण्डे र २६ वर्षर्की शिवानी तामाङ रहेको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
उनीहरुबाट विभिन्न सेवाप्रदायक कम्पनीका ३ सय ४६ सिमकार्ड, १० थान मोबाइल, विभिन्न बैंकको ३ थान चेकबुक, १४ एटीएम ल्याप्टप समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेशन आइएक्स बेटमार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने गरेको प्रहरीको भनाइ छ।