Logo
१३ वैशाख २०८१, बिहीबार

सुरु भयो बुद्ध थिएटर फेस्टिवल

अक्षरपाटी
२०७९ चैत्र १४ , मंगलबार ११:०३ मा प्रकाशित

काठमाडौं । गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन आयोजित ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सोमबारदेखि सांस्कृतिक संस्थानमा सुरु भएको छ।

६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरले संयुक्त रूपमा आयोजना गरेको हो।

काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाले मन्त्रोचारण गर्दै सुरु भएको महोत्सवको पहिलो दिन सांस्कृतिक संस्थानको प्रस्तुति नाटक ‘चण्डालिका’ मञ्चन गरिएको थियो।

माया थापाको परिकल्पना तथा निर्देशन रहेको यो नाटक एक अछूत युवतीले भिक्षुलाई पानी खुवाएपछि आफन्तले दिएको श्रापको कथामा आधारित छ । तर पछि भिक्षुको आशीर्वादले श्रापबाट मुक्त भई उनीहरूको जीवनमा सुख र शान्ति आएको कथा नाटकमा समेटिएको छ।

नाटकमा शुशीला थापा, तीर्थराज पोखरेल, रेखा कटवाल, सुरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशा न्यौपाने, वीना विश्वकर्मा, सलिना क्षत्रीले अभिनय गरेका थिए।

दुर्गाप्रसाद खतिवडाको संगीत संयोजन र तीर्थराज पोखरेलको गीत रचना रहेको नाटकको वाद्यवादन समूहमा दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति र रोहित सुवेदी थिए भने गायनमा दीपेन्द्र वज्राचार्य र शिला बिष्ट अली थिए।

महोत्सव उद्घाटन समारोहमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले महान् दार्शनिक गौतम बुद्ध नेपालमै ओझेल परेको बेला उनको जीवनी, दर्शन र सन्देशलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन बुद्ध थिएटर फेस्टिवल आयोजना हुनु गौरवको विषय भएको बताए।

समारोहमा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले तेस्रो संस्करणसम्म आइपुग्दा परिपक्वता आएकाले आगामी संस्करणदेखि यस महोत्सवलाई अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने बताए।

‘बुद्ध दर्शनका अनुयायीहरू विश्वभर छन् । रंगमञ्चमार्फत उनीहरूलाई वुद्धभूमि नेपालमा आकर्षित गर्न आगामी संस्करणदेखि बुद्ध थिएटर फेस्टिवललाई अन्तर्राष्ट्रियस्तरमा लैजाने छौं’, महाप्रबन्धक राईले भने।

फेस्टिवल निर्देशक पुष्कर गुरुङले विश्व रंगमञ्च दिवसका अवसरमा इन्टरनेसनल थिएटर इन्स्टिच्युट (आईटीई)को तर्फबाट इजिप्टका विश्वचर्चित रंगकर्मी समिहा अयुवद्वारा प्रेषित सन्देश वाचन गरेका सुनाए।

सो अवसरमा ५० हजार रुपैयाँसहितको यो वर्षको डबली अवार्ड रंंगकर्मी अनुप बराललाई प्रदान गरिएको थियो । प्राडा अभि सुवेदीलगायतले हस्तान्तरण गरेको अवार्ड बराल पत्नी अभिनेत्री दिया मास्केले ग्रहण गरेकी थिइन्।

चैत १७ गतेसम्म चल्ने महोत्सबको दोस्रो मंगलबार प्रशान्त बगाले निर्देशित ‘थ्री लाफिङ मंक्स’, बुधबार निकिता गुरुङ निर्देशित ‘प्रतिविम्ब’ र गीता थापा निर्देशित ‘पताक्षर’, बिहीबार वर्षा भण्डारी निर्देशित ‘पश्चाताप’ र सस्मिल मगर निर्देशित ‘अम्रपाली’ मञ्चन हुँदैछ । महोत्सवको समापनमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ । महोत्सवको यो तेस्रो संस्करण हो।