काठमाडौं । भारतीय आयल निगम (आईओसी) बाट इन्धनको नयाँ मूल्य प्राप्त भएको छ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर प्राप्त भएको छ । घटेको नयाँ मूल्यअनुसार निगमले बजार उपभोक्ता मूल्य भने घटाएको छैन।
घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड बढी नाफा हुने प्रक्षेपण गरिएको छ। बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ भन्दा बढी नाफा थियो ।
डिजेलको मूल्यलाई लिएर सरकारको पूँजीगत खर्चसमेत हुन नसकेको गुनासो निजी क्षेत्रले गरिरहेका छन्। निगमले भने गत वर्षको घाटाको बक्यौता र ऋणका कारण अझै निगम वित्तीय दायित्वले थिचिएको दाबी गरिरहेको छ।
सरकारले ६ अर्ब ५० करोड ऋण र भारतीय आयल कर्पोरेसनको ८ अर्ब बक्यौता अझै बाँकी रहेको निगमको दाबी छ।