काठमाडौं । भोलि शुक्रबारबाट चलचित्र ‘बहाव’ प्रदर्शनमा आउने भएको छ।
चलचित्र प्रदर्शनको पूर्वसंध्यामा बुधबार बहावको राजधानीमा प्रिमियर गरिएको छ। फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिए।
एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिए।
‘फिल्मको विषयवस्तु नयाँ छ। नेपाली दर्शकका लागि यसले फरक स्वाद दिनेछ। फिल्मले हामीले समाजमा देख्दै र भोग्दै आएको विषयलाई गम्भीर किसिमले उठान गरेको छ’, उनले भने।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए।
उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसिरहेको अवस्थामा ‘बहाव’ ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे।
निर्देशक नरेश पौडेलले ‘बहाव’ नेपालमा बनिरहेका फिल्म भन्दा फरक शैलीमा बनेको जनाए। उनले आफूले जापानी फिल्म हेरेको अनुभव गरेको खुलाए।
कलाकार भोलाराज सापकोटाले कथादेखि प्रस्तुतिकरण, कलाकारको अभिनय राम्रो लागेको बताए। अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो फिल्म बनेको उल्लेख गरे। अर्का कलाकार विजय बरालले फिल्मको कन्सेप्ट आफूलाई मनपरेको बताए।
अभिनेत्री लुनिभा तुलाधरले फिल्मले आफ्नो कथा भनेजस्तो अनुभव गरेको बताइन्। उनले मानसिक स्वास्थ्यको विषयलाई उठान गरेकोमा आभार व्यक्त गर्दै यस्ता कथामा अझ फिल्म बन्नुपर्ने सुझाव दिइन्।
फिल्मका अभिनेता कमलमणि नेपालले फिल्ममा आफू कठोर देखिए पनि वास्तविक जीवनमा कमलो मनको भएको बताए।