कैलाली। कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धा बिहीबार हुँदैछ।
उपाधिका लागि कैलालीको स्टार सिटी क्लब र नवलपरासीको फोर ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्नेछन्।
स्टार सिटीले बाँकेको कोहलपुर रेसिङ सहारा क्लबको कारबाहीपछि बाइ पाएर फाइनलमा स्थान बनाएको हो।
बर्दियाको नव युवा मैत्री भाव क्लबलाई पराजित गर्दै फोर ब्रदर्श उपाधि नजिक पुगेको हो।
उपाधि भिडन्त अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन्।
‘मध्यपश्चिमबाट आएर क्वाटर फाइनल, सेमी जितेर यो रमाइलो यात्रा तय गरेका छौँ,’ फोर ब्रदर्शका टिम कोच धर्मराज भुसालले भने, ‘अब फाइनल पनि जित्ने गरी रणनीति बनाइरहेका छौँ र फाइनल जित्छौँ पनि।’
फोर ब्रदर्शका टिम कप्तान विनोद केवटले पनि उपाधि जित्ने गरी खेल्ने बताए।
‘हामी सुरुवाती १०÷२५ मिनेटसम्म केही चुकेर पछि गेम राम्रो बनाउँदै आएका छौ,’ उनले भने, ‘दोस्रो खेलमा त्यो केही सुधार पनि गरेउँ। साथै फिनिसिङ लाइनमा पनि केही कमजोरी भइरहेको छ । अब त्यसलाई सुधारेर उपाधि जित्नेमा विश्वस्त छौँ।’
उनले प्रतिद्वन्द्वी टिम बलियो भए पनि खेलाडीप्रति आफू विश्वस्त रहेकाले उपाधि जित्ने बताए।
स्टार सिटीका टिम कोच गजेन्द्र शाहीले उपाधि जित्ने गरी रणनीति बनाइएको दाबी गरे।
‘हामीले यो मैदानसँगै अन्यत्र पनि अहिलेकै सेटमा खेल खेल्दै नतिजा निकाल्दै आएका छौँ,’ उनले भने, ‘त्यसैले हामीलाई गाह्रो छैन । हामीले प्रतिद्वन्द्वी टिमको अवस्था हेरेर रणनीति तयार पारेका छौँ।’
स्टार सिटीका कप्तान सन्दीप कुँवरले आफू यसअघि पनि यो प्रतियोगिताका दुवै संस्करणमा सहभागी भइसकेकालाई सजिलो हुने बताए।
‘होम ग्राउन्ड, होम सपोर्टर भएर पनि खेलमा राम्रो प्रभाव पर्छ,’ उनले भने, ‘तर हामी त्यसो भनेर मात्र हैन राम्रो खेलेर नतिजा निकाल्छौँ। पहिलो र दोस्रो संस्करण खेलिसकेको मैदान पनि हो र हामी यस अघि फाइनलिस्ट पनि हो। त्यसैले हामीले बलियो रहेको प्रतिद्वन्द्वीलाई जित्ने गरी खेल्छौँ।’
पत्रकार सम्मेलनमा आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेले दुवै टिमलाई जितको शुभकामनासहित गोल्डकपका आगामी संस्करणहरू थप व्यवस्थित र परिष्कृत बनाउँदै लैजाने बताए।
‘२०७४ सालबाट हामीले यस क्षेत्रका खेलाडी, यो खेल मैदान र युवाहरूको सृजनशीलताका लागि अभियान थालेर यो गोल्ड कप गर्दै आएका छौँ,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य यहाँ एउटा सरकारी मापदण्ड अनुसार स्थानीय तहमा बन्नुपर्ने रङ्गशाला बनाउने हो। यस क्षेत्रका खेलाडीको खेल जीवन र युवाहरूमा बढ्दो लागू औषधको विकराल स्वरूपलाई कम गर्न सकिन्छ भन्ने उद्देश्यले यसको आयोजना गर्दै आएका छौँ।’
उनले प्रतियोगितामा सहभागिता जनाउने १० वटै टिमका खेलाडी तथा व्यवस्थापक, प्रशिक्षक र यस क्षेत्रका सम्पूर्ण प्रायोजकहरूमा धन्यवाद ज्ञापन गरे।
‘सरकारी स्तरबाट खेल क्षेत्रलाई हेर्नुपर्ने नजरीया सुधार हुन सकेको छैन,’ उनले अगाडी भने, ‘तर पनि हामी यी प्रतियोगिताको व्यवस्थापनलाई बढवा दिने र खेल क्षेत्र तथा खेलाडीको जीवनस्तर उकास्ने अभियानमा अनवरत लागिरहने छौँ।’