काठमाडौं। नेपाली नयाँ वर्ष २०८०को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिएको छ।
राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन, फ्लिन ड्राइभमा आतिसबाजीसहित नयाँ वर्ष मनाइएको हो।
सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ वर्ष मनाएको हो। कार्यक्रम स्थानीय समयअनुसार २ बजे सुरु भएको थियो।
कार्यक्रममा यातायात तथा सहरी सेवा मन्त्री क्रिस स्टिल र कम्पिटिसन्स, च्यारिटि तथा ट्रेजरी सहायक मन्त्री डा एन्ड्रयु लिह् प्रमुख अतिथिका थिए। बिन क्षेत्र, एसिटिका सांसद् डेभिड स्मिथ अतिथिका रुपमा उपस्थित थिए।
राजधानी क्यानबेरा अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीको उल्लेख्य बसोबास भएको क्षेत्र हो।
अस्ट्रेलियामा नेपाल र नेपालीको छुट्टै पहिचान बनाउन नयाँ वर्षमा आतिसबाजी गरेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष मल्लले बताए।
‘नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन्। त्यसैले नेपालीलाई पनि भारतीय नै मान्नेहरुको जमात ठूलै छ र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,’ उनले भने, ‘नेपाली र भारतीय फरक हुन्, हाम्रो आफ्नै संस्कृति छ, चालचलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिसबाजीसहित विशेष दिनका रुपमा मनाइएको हो।’
दसैं, तिहार, फागु पूर्णिमा लगायतका पर्व नेपाल र भारत दुवैतिर मनाइन्छन्।
यसले नेपाली र भारतीय एकै हुन् भन्ने छाप परेको अध्यक्ष मल्लले बताए। तर, नयाँ वर्ष भने भारतमा इसवी संवत्अनुसार जनवरीमा मनाइन्छ भने नेपालले विक्रम संवत्अनुसार वैशाखमा मनाउने गरेको छ।