Logo
८ वैशाख २०८१, शनिबार

नयाँ किरणसँगै आशाको लालित्य छावोस !

अक्षरपाटी
२०८० वैशाख १ , शुक्रबार ०९:०४ मा प्रकाशित

सम्पादीय

घामको लाली पोखिएर, धप्प धर्ती खुलेजस्तै
हिउँचुलीमा ठोकिएर, पहिलो किरण भुलेजस्तै
अँधेरोले लगेको होस्, विकृति र विसाक्तता
हरेक ओठमा खुशी छावोस्, फूलमा भमर डुलेजस्तै।।

आज नयाँ वर्ष २०८० । हरेक वर्षसँग अपेक्षा, आसा र उमंग जोडिएको हुन्छ । नेपाली भूमिमा आज फेरि नयाँ वर्षको नयाँ किरणले पदार्पण गरिसकेको छ।

धेरै आत्माहरु नयाँ आशा बोकेर ब्यूँझिएका छन्, यत्ति सुरुमै भनौँ । हे पशुपतिनाथ ! निष्कपट, निस्कलंकी र अवोध आत्माहरु यो वर्ष दुख्दै नदुखुन्। सोचेको कति पुग्ला थाहा छैन, शान्तिको सास यो वर्षभरी फेरिरहन सकून।

हो, यस्तै केही र विशेष कामना हिँजो रातसँगै विदा भएर गएको वर्षसँग पनि थिए, गरिए। विडम्बनाका धेरै कुरा नयाँ विहानीमा किन गर्नु, समग्रमा देश र जनताका लागि गर्छु भनेर सत्तामा पुगेकाहरुले न्यायका लागि हप्तौँसम्म पैदल मार्चपास गरेको पीडा देख्न सकेन।

स्थानीय निर्वाचनले जगाएको आशा आज वर्षदिन हुँदा पनि अपेक्षित सावित हुनसकेको छैन। गएको वर्ष तीनै तहको निर्वाचन त भयो, निम्न तहका जनतामा आशाको सञ्चारभन्दा महंगी र बेथितिको घोर निराशा दिएर गयो।

कामना गरौँ, गाउँको सिंहदरबारमा न्याय कम विकृतिको अवस्था यो वर्ष देख्न, भोग्न र लेख्न नपरोस।

केन्द्रीय सत्ता महंगीले बल्नै मुस्किल भएको जनताको चुलोसँग सरोकार राख्दैन। आर्थिक अभाव र तावले जरजर बन्दै गएको नागरिकको अघिल्तिर ‘सकारात्मक सूचकको’ बिस्कुन पस्कनुबाहेक सरकार सडकमा फ्यालिएका किसानका गोलभेँडा देख्दैन। बाटोमा बिस्कुन लगाइएका कुखुरा र अण्डाको पीडा सुनेन्।

कसलाई मन्त्री बनाउने, कसको सत्ता गिराउने खेलमा कम्तिमा यो वर्ष राजनीति रुमल्लिएको देख्न नपरोस।

नीतिको विशिष्ट रुप राजनीति गर्नेहरु अदूरर्शी दरिद्रता नदेखाउन्। सत्ता, शक्ति र पदीय लुछाचुँडी छोडेर राजनीतिज्ञहरु वितृष्णा जाग्दै गएको राजनीतिप्रति जनताको विश्वास जगाउने बाटो पक्रिन सकून्।

संसारकै धनाढ्य बन्ने होडमा लागेका व्यवसायीहरु सामान्य जनताको घरबासै उठिबास लगाउने अवैधानिक र अमानवीय कृत्यमा लागेका खबर अब सुन्न र देख्न नपरोस।

सम्भावनाको आशा जगाएको खेल जगतको उम्दो रुप यो वर्ष फक्रक्क फक्रिएको देख्न मिलोस्। विश्वजगतमा नेपाली साहित्यको संचार फैलियोस्।

आफन्त भेट्न र संसार हेर्न हिँडेका यात्रु आकाशमै विलीन हुनुपरेको ०७९ को अवस्था अब नदोहोरियोस्। हरेक घटनालाई कर्मकान्डी छानविन बनाएर ढाकछोप गर्ने प्रवृति निमिट्यान्न भएर, विधि र थितिको शासन व्यवस्थाको मनबुत सुरुवात होस्।

तिर्खा लाग्दा कुवा खन्ने चरित्र फेरि नदोहोरिउन भन्ने कामना गरौँ। दैविय विपत्ति आउन नदिन पूर्व तयारी हुन सकोस्, विपत्तिपछि समवेदना दर्शाउने प्रवृति नाश होस्।

मानवीय त्रुटीहरुमा उचित उपायहरु अपनाइन सकून। भ्रष्ट, कालोबजारी पोसिने र दिनरात पसिना चुहाउने किसान ठगिने अवस्थाको अन्त्य होस्।

नेपाली धर्तीमा नयाँ वर्षले सुकोमल घामका किरण छरिसकेको यो क्षण हामी कामना गरौँ, सबै बेस हुनेछ। सकारात्मक सोचौँ र सकारात्म अपेक्षा गरौँ ।

आफू सिन्को नभाच्ने तर आदर्श र उपाय मात्र देख्ने प्रवृत्ति पनि फेरियोस्। परिवर्तन आफैबाट सम्भव छ, अरुबाट होइन भन्ने आत्मज्ञान हामी सबैमा होस्। नयाँ वर्ष २०८० सकारात्म वर्ष सावित होस्, सबैमा शुभकामना।