काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको वताएका छन्।
इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले नेपाल बहुजातीय तथा बहुसांकृतिक मुलुक भएको बताए।
राष्ट्रपति पौडेलले नेपालमा जात धर्ममामात्र विविधता नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे। उनले नेपालमा आर्य, मंगोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको बताउँंदै यी सबैलाई मिलाउन सकेमा नेपाली नेपालीबीचको एकता बलियो हुने धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले नेपाली विश्वका कुना कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीले आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकोमा इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनको प्रशंसा गरे।
नेपालको संस्कृति विश्व सामू चिनाउनका लागि फाउण्डेशनले अझै थप काम गर्नुपर्ने राष्ट्रपति पौडेलको सुझाव थियो।
फाउण्डेशनले अफ्रिकाभन्दा बाहेकका ६ महादेशका विभिन्न देशबाट र नेपालबाट मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्समा नेपाली संस्कृति र पहिचान झल्कने नृत्य र गायन प्रतियोगिता गरिरहेको छ।