काठमाडौं। कुनै पनि नयाँ निर्माण गर्दा अब उप्रान्त काठमाडौंका सडकमा अवरोध गर्न नपाइने भएको छ।
निजी वा सार्वजनिक निर्माण वा मर्मतका क्रममा सकैले सडक वा सडकपेटीमा अवरोध, फोहोर वा धुलो धुँवा र निर्माण सामग्रीका टुक्रा छोडेमा कारबाही हुने भएको छ।
काठमाडौं महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक निकायलाई राति ८ बजेपछि मात्र निर्माण कार्य गर्न भनेको छ।
निर्माण गर्दा कुन निकायको हो, कति समयमा सम्पन्न गर्ने भन्ने कुरा स्पस्ट उल्लेख गरेर सडक र अन्य घरपसललाई अवरोध र धुलो नहुनेगरी छेकबार गर्नसमेत सूचनामा भनिएको छ।
निर्माण सम्पन्न भइसकेपछि निर्माण सामग्रीका टुक्रा, धुलो हटाउने र भत्केबिग्रेको सडक बनाएर दुरुस्त गर्नुपर्नेसमेत सूचनामा उल्लेख छ।
यदी निर्माणका क्रममा सडक र अन्य व्यक्ति, संस्थालाई असर गरेमा फोहोर मैला व्यवस्था ऐन र वातावरण संरक्षण ऐनअनुसार ५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिने महानगरले भनेको छ।