काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार नेपाली जनताप्रति कटिबद्ध रहेको बताएका छन् । उनले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध रहेको बताएका हुन् ।
१५३ औं लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध छ । शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रासामु छ ।’
देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको उनको दाबी छ । प्रधानमन्त्री दाहालले प्रतिगमनविरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन सरकार हालसम्म प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको समेत बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता तथा ध्रुवीकरण अभियानमा लामबद्ध हुन अपिल समेत गरेका छन् ।