कैलाली। कैलालीको धनगढीमा भोलिदेखि १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुदैंछ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागिता रहेको १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुन लागेको हो।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। वैशाख १७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सबै तयारी सकिएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले जानकारी दिए।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भोलि धनगढीको फाप्ला क्रिकेट मैदानमा उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्ने भएका छन्।
सार्वजनिक खेल तालिका अनुसार प्रतियोगितामा सहभागी सात प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै मधेस प्रदेश तथा लुम्बिनी प्रदेश रहेका छन् ।
समूह बी मा बागमति प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेश रहेका छन्। समूहको बिजेता र उपविजेता सेमिफाइनल पुग्नेछन् ।
प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन्।
त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन्।
नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो।
एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार उक्त प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ।
सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ।
यसै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर त्यसबाट उत्कृष्ट १४ जनालाई १६ बर्ष मुनिको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीम बनाईने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।