Logo
१४ वैशाख २०८१, शुक्रबार

यो कस्तो प्रश्न ? जसको कुनै ‘तन्त्र’मा उत्तर पाइँदैन

अक्षरपाटी
२०८० वैशाख १० , आईतबार १०:०४ मा प्रकाशित

सम्पादकीय
सबै सत्य प्रिय हुँदैनन्। मृत्यु सत्य हो । तर यो सत्य मानिसका लागि प्रिय लाग्दैन। जो होस्, जस्तो सुकै होस, ‘मानिसको मृत्यु’ भन्ने शब्द नै मानिसका लागि अप्रिय हुन्छ। हरकसैको मृत्युले मानिसको मन कटक्क दुख्छ।

अझ अस्वभाविक मृत्यु त स्वीकारर्नै मुस्किल हुने विषय हो। त्यसमाथि अरुका कारण, र त्योभन्दा माथि नागरिकको अभिभावक भनिएको राज्यको अकर्मन्यताका कारण स्वीकार्नुपर्ने मृत्युले पीडा मात्रै दिँदैन, निराशा र आक्रोसम समेत पैदा गरिदिन्छ।

हो यही पीडा, निराशा र आक्रोस सहेर बाँच्न विवस छन्, दार्चुलाको विकट सीमावर्ती क्षेत्रका नागरिक पनि। राज्यको उदासिनता, अर्कमन्यता, लापरवाही र नागरिकप्रतिको गैह्रजिम्मेवारी व्यवहारका कारण शनिबार फेरि ४५ वर्षीय सिन्दलसिंह भण्डारी महाकालीको बहावमै बिलाए।

नेपाल भारत सीमाका महाकाली नदीमा तुइनमा झुन्डिएर तर्नुपर्ने नियतिको शिकार भण्डारी भइरहँदा गत वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै आलोचित बनेको जयसिंह धामीको हृदयविदारक मृत्युलाई पुनःस्मरण गराइदिएको छ।

हो, नारा, भाषण र व्यवस्थाले सुन्दर सपना बाँढ्छ, बाँडिरहेकै छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरबाट तुइन विस्तापन गर्ने पहिलो निर्णय गरे। यसलाई आफू नेतृत्वको सरकारको नारा बनाए, तर यो नारा घन्किरहेकैबेला जयसिंह धामी आफ्नो काँधमा बोकेको लालाबालको जिम्मेवारीसहित महाकालीमा विलिन भए। राज्य तमासे बनिरह्यो।

यतिबेला जनयुद्धताका सहरमा ढिँडो र हुम्लाजुम्लामा बासमती चामलको भात पुर्याउँछु भन्दै नारा लगाउने नेता सरकारको नेतृत्वमा छन्, तर एक पोका नुन किन्न आफ्नै देश छोडेर भारतको भर पर्नुपर्ने दार्चुलाको नियति वर्तमान सरकारले पनि देखेको नदेख्यै गरिरहेको छ। र त, सिन्दलसिंह भण्डारीले पनि तुइनकै लट्टाबाट चिप्लिएर प्राण गुमाउनुपर्यो।

तथ्यांकले भन्छ, ६५ वर्षमा दार्चुलामा मात्रै ६४ जना महाकालीमा बिलाइगएका छन्। तीँमध्ये ३ जनाको मात्रै शव आफन्तले देख्न पाए। यो मृत्यु मात्रै होइन, राज्यका लागि लज्जा देखाउने ठूलो ऐना हो। त्यो किन भने, आफ्नै जन्मभूमीको अर्को गाउँमा पुग्न पनि भारतको बाटो समात्नुपर्ने वर्षौँ पुरानो नियति फेर्न यतिका फेरिएका व्यवस्थाहरुले किन नसकेको ?

सालैपिच्छे फेरिने यतिका सरकारले फेर्न किन नसकेको ?

सुदूरपश्चिम क्षेत्र राज्यको उच्च तहमा, नेतृत्व तहमा र सरकारको कमाण्ड समाल्ने तहमा योग्य उम्मेदवार जन्माउने थलो हो। तर विडम्बना यहाँको यति सानो तुइनको लट्टा त्यति शक्तिशाली नेतृत्वहरुले फेर्न किन नसकेका ?

महाकालीमा वर्षेनी खसेर एक व्यक्तिको मृत्यु हुन्छ ? गन्तीमा एक व्यक्ति मात्रै हो ! त्यसो नहोस, तर त्यो व्यक्ति सिन्दलसिंह, जयसिंह, वीरसिंह वा अरु कोही सिंह नभएर तपाईँ भएको भए के हुन्थ्यो?

सायद तपाईँका परिवारलाई मानवीय पीडा हुन्थ्यो, नातागोता शोकाकूल हुन्थे तर तपाईँ शक्तिशाली व्यक्ति भएकाले सन्तान दरसन्तानलाई साँझविहान के खाउँ ? भन्ने पीडा भने हुने थिएन।

तर सिन्दलसिंह, जयसिंह, वीरसिंह र महाकालीमा बिलाइगएका तीं सबै सिंहहरुका परिवारका लागि उनीहरु नै सबैथोक थिए। परिवारको धुरीखाँबो थिए, साँझविहानको गाँसको जोहो थिए। रात पर्दा लाग्ने ओत थिए।

त्यसैले उनीहरु विलाउनुमा उनीहरुका परिवारको मियो नै बिलाएको सत्य राज्यले कुन व्यवस्था फेरिएपछि बुझ्ने?

तुइन महाकाली सम्पादकीय
यो पनि हेर्नुहोस् : किसानको पनि होइन र, यो देश…!