Logo
७ पुस २०८१, आईतबार

गेटा आँखा अस्पतालको २२औं शाखा बझाङको देउलेखमा

अक्षरपाटी
२०८० वैशाख १० , आईतबार ११:०४ मा प्रकाशित

कैलाली । गेटा आँखा अस्पतालको २२ औँ शाखाका रुपमा बझाङको देउलेखमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ।

सुदूर पश्चिम प्रदेशको ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच विस्तार गर्ने कार्ययोजना अनुसार नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालद्वारा बित्थड चिर गाउँपालिकासँगको सहकार्य तथा सेभा नेपालको सहयोगमा देउलेखमा शाखा स्थापना गरिएको हो।

आँखाका रोगीहरुलाई नियमित आँखा उपचार सेवा प्रदान गर्न प्राथमिक स्वास्थ्य केन्द्र देउलेख संचालनमा ल्याइएको गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए।

उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरि आँखा परीक्षण, औषधि उपचार, चश्मा जाँच तथा उपचार केन्द्र मै चश्मा तयार गरिनुको साथै सामान्य शल्यक्रिया समेत गरिने छ।

केन्द्रबाट समुदायमा आँखा उपचार तथा जनचेतना जगाउन महिला स्वास्थ्य स्वयं सेविका तालिम, शिक्षकहरुका लागि आधारभूत आँखा स्वास्थ्य सम्वन्धि तालिमको साथै विद्यालय आँखा स्वास्थ्य कार्यक्रम समेत संचालन गरिने छ।

आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परीक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरी गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परीक्षण र आवस्यक परामर्श दिएर उपचार सेवा समेत प्रदान गरिने भट्टले बताए।

बित्थड चिर गाउँपालिकाका अध्यक्ष अमरसिंह महराको सभापतित्वमा संचालित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल नेत्रज्योति संघ प्रदेश समितिका सचिव भूपेन्द्र थापा र गाउँपालिका अध्यक्ष महराबाट संयुक्त रुपमा उद्घाटन गरिएको थियो।

नेपाल नेत्रज्योति संघ कैलालीका सभापति लोकराज जोशी र सामाजिक विकास संयोजक दिनेश अधिकारीले शुभकामना व्यक्त गरेका थिए।

गेटा आँखा अस्पतालका चीफ मेडिकल डाईरेक्टर डा सुरेश राज पन्तले आँखा उपचार केन्द्रले प्रदान गर्ने सेवाको बिषयमा प्रकाश पारेका थिए।

कार्यक्रममा बित्थड चिर गाउँपालिकाका वार्ड अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि, प्राथमिक स्वास्थ्य केन्द्र देउलेखका कर्मचारी तथा बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार, महिला स्वास्थ्य स्वयं सेविका र स्थानीय समाज सेवीहरुको सहभागिता थियो ।

यस प्रदेशको अन्धोपन न्यूनीकरण तथा गुणस्तरीय आँखा उपचार सेवा पुर्याउन गेटा आँखा अस्पतालले अस्पताल तथा यस अन्तरगत यस प्रदेशका ९ वटै जिल्लामा संचालित २२ वटा शाखाहरु बाट नियमित उपचार सेवा प्रदान गर्नको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई आँखा उपचार सेवाको पहूँच बढाउन आँखा शिविर मार्फत समेत सेवा प्रवाह गरि रहेको छ।