काठमाडौं। एसीसी प्रिमियर कपमा कतार नेपालद्वारा ६८ रनले पराजित भएको छ।
त्रिवि मैदानमा आज १ सय ५८ रनको लक्ष्य पछ्याएको कतारलाई नेपालले २५ ओभर १ बलमा ८९ रनमा रोक्यो।
कतारलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानले ५ विकेट लिए। उनले ९ ओभर १ बलमा मात्र १४ रन खर्चिए।
यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए। कतारका कुनै पनि खेलाडीले १५ रन कटाउन सकेनन् । उसका ३ खेलाडीले मात्र दोहोरो अंकको रन बनाए।
सुरुवातमा नेपालले पनि खराब ब्याटिङ गरेको थियो । नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भएको थियो।
सुरुवातबाटै धरमराएको नेपालको इनिङ्स लेग स्पिनर सन्दीपले उकास्ने प्रयास गरेका थिए । उनी ४२ रनमा अविजित रहे।
एकदिवसीय खेलमा उनको यो सर्वाधिक रन हो। उनले दशौं विकेटका लागि अर्का स्पिनर ललित राजवंशीसँग ४६ रनको साझेदारी गरे । कप्तान रोहित पौडेल २७ रनमा बाहिरिए।
५ जना ब्याट्सम्यानले दोहारो अंकमा रन छुन सकेनन्। आमिर फाहरुखले ४ र ओवाइस अहमदले ३ विकेट लिए । यसअघि नै समेफाइनलमा प्रवेश गरिसकेको नेपाल आजको जितपछि समूह एको विजेता बनेको छ। कतार भने लिग चरणमै रोकिएको छ।
समूह बी बाट हङकङलाई ३० रनले हराउँदै कुवेत सेमिफाइनलमा प्रवेस गरेको छ। मुलपानी मैदानमा कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ५० ओभरमा २४२ रनमा समेटियो।
जितसँगै कुवेत ६ अंकका साथ समूह उपविजेता बनेको छ । पराजित हङकङ भने समूह चरणबाटै बाहिरिएको छ। अब शनिबार हुने सेमिफाइनलमा नेपालले कुवेत र ओमानले यूएईसँग प्रतिस्पर्धा गर्नेछ।