Logo
२० वैशाख २०८१, बिहीबार

आज श्रमिक दिवस, सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य गर्ने प्रधानमन्त्रीको भनाइ

अक्षरपाटी
२०८० वैशाख १८ , सोमबार ०८:०५ मा प्रकाशित

काठमाडौं। आज १ मई अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य गर्ने वताएका छन्।

उनले लागू नगर्ने संस्था र निकायलाई कडाइका साथ लागू गर्न पहल गर्ने पनि बताए। उनले सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण उद्योग, कलकारखाना, प्रतिष्ठान र कार्यालयले अनिवार्य रुपमा लागू गर्नुपर्ने धारणा राखेका छन्।

मई दिवसका अवसरमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्।

उनले मजदुर वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिनका रुपमा मई दिवसलाई स्मरण गरेका छन्।

२००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो।

सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक वीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको दिनका रुपमा पनि कांग्रेसले स्मरण गरेको छ।

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन भएको पनि देउवाले स्मरण गरेका छन्।

उनले भनेका छन्, ‘त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ।’

२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूर सम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको थियो।