० अक्षरपाटी विशेष
प्रजान्तत्र आयो। गाउँमा विकास नपुग्दै माओवादी द्वन्द्व सुरु भइगयो । हुनेखानेसँग भएका रेडियो पनि गाउँमा सुनिन छोडे।
आज त दुर्गम बस्तीकै रुपमा चिनिने बझाङको साविक दंगाजी गाविसको अवस्था डेढ दशकअघि कस्तो थियो होलारु सहजै अनुमान लगाउन सकिन्छ।
त्यही गाउँमा जम्मिए कृष्ण बिक । यतिबेला काठमाडौंमा स्नातक तेस्रो वर्षमा अध्ययन गरिरहेका कृष्ण रेडियो पनि मुस्किकले सुनिने गाउँमा २०५९ साउनमा जन्मिए । त्यतै हुर्किए ।
खै कुन सुरमा उनको बालमानसपटलमा संगीतको ताल सलबलायो । उनले ९ वर्षकै उमेरमा ‘सुन्दर सुदूरपश्चिम हाम्रो’ गीत गाएर जन्मभूमीलाई समर्पण गरे, र बाल गायकका रुपमा झुल्किए ।
११ वर्षको चञ्चले बालक थिए कृष्ण । सोहीबेला २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनको तयारी हुँदै थियो । बझाङको बीचगडामा हुने चुनावीसभालाई सम्वोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मञ्चमा थिए।
एउटा गीत प्रस्तुतिका लागि कृष्ण सोही मञ्चमा उक्लिए । देउवाले कृष्णको प्रतिभा नियाले। उनकाबारेमा बुझे । एक गरीब परिवारका कृष्णलाई तुरुन्तै संरक्षण दिएर पढाउने लेखाउने जिम्मा लिने निर्णय गरे।
शालिन र जिम्मेवार रुपमा प्रस्तुत हुने स्वकीय सचिव भानु देउवाले कृष्णलाई काठमाडौंमा पढ्ने, बस्ने जोहो मिलाए र श्रीराम लामिछानेले उनलाई कपनको राष्ट्रिय माविमा कक्षा ८ मा भर्ना गरिदिए। लामिछाने यतिबेला काठमाडौं ४ मा प्रदेशसभा सदस्य छन्।
दुर्गम गाउँमा बुवा लक्ष्मीकुमार कामी र आमा रम्भादेवीको कोखमा जन्मिएर गरिबीमा हुर्किरहेका कृष्णले ठूलै छहारी मात्रै पाएनन् । काठमाडौंमा उनले आफ्नो प्रतिभालाई निखार्ने सुउद्देश्य लिएर अघि बढे।
र त, उनले २०७५ मा ६ वटा गीत संगालिएको एल्बम मात्रै निकालेनन्, त्यसपछि उनको हजुर मुसुक्कै गीतले बजार ततायो। रानीमायाको चर्चा कम भएन।
२० वर्षकै कलिलो उमेरमा उनले ‘गोसाइँ’ उपन्यासको पाण्डुलिपी तयार पारेर त्यहाँको गरिबी र छुवाछुतको आँखिझ्याल देखाउने प्रयास गरेका छन्। जुन उपन्यास सम्पादनका क्रममा रहेको उनले सुनाए।
योबाहेक कृष्ण फेरि अर्को गीतको तयारीमा छन्। अब आउने गीत आफ्नै लागि प्रतिस्पर्धा हुने अर्थात विगतकाभन्दा राम्रो गर्ने योजनामा रहेको उनले सुनाए।