Logo
८ वैशाख २०८१, शनिबार

बनाउँदा बनाउँदै भत्कियो सवा दुई करोडको सभाहल

अक्षरपाटी
२०८० वैशाख २० , बुधबार ०१:०५ मा प्रकाशित

धनगढी। ६ वर्षअघि निर्माण थालिएको बैतडी जिल्लाको सभाहल भग्नावशेष बनेको छ।

दशरथचन्द नगरपालिका ४, गढीस्थित जिल्ला समन्वय समितिको आँगनमा बनाउन थालिएको सभाहल जीर्ण बनेर छत भत्किन थालेको हो। ्

सहरी विकास मन्त्रालयको दुई करोड २३ लाख १४ हजार रुपियाँ लागतको उक्त सभाहल निर्माणको ठेक्का २०७४ सालमा खामपाते शेर्पा निर्माण सेवा कम्पनीले पाएको थियो।

ठेक्का सम्झौतापछि पेस्की रकम लिएर ठेकेदार फरार भएका छन्। सभाहल निर्माणको काम अधुरै छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन बनेका छन्।

ठेका पाएका ठेकेदार सम्पर्कमा नआएको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले जानकारी दिए।

सहरी विकास तथा भवन निर्माण विभाग डोटीले हेर्ने गरी सो सभाहल २०७४ सालमा निर्माण सुरु भएको थियो।

२०७४ साल पुस १८ गते सम्झौता भएर २०७६ असार १७ मा निर्माण सम्पन्न गर्ने सम्झौता थियो।

सो योजना निर्माणका लागि तीन पटक म्याद थपिँदा पनि ठेकेदारले निर्माण कार्य पूरा गर्न नसकेको उनको भनाइ छ ।

दुई तले सभाहल भवनको छत भत्किँदा निर्माणमा प्रयोग भएका रड र सिमेन्ट झर्न थालेको छ।

भवन अलपत्र परेको विषयमा जिल्ला समन्वय समितिले चासो राख्दा सहरी विकास तथा भवन निर्माण विभाग डोटीले ठेक्का तोडेर अर्को टेन्डर निकाल्ने र कम्पनीलाई कालो सूचीमा राख्ने तयारी भएको जानकारी प्राप्त भएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ।