धनगढी। अत्याधुनिक प्रविधिसहित विशेषज्ञ चिकित्सकद्वारा धनगढीमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले समाचारमा आफ्नो नाम जोडेकोप्रति प्रष्टिकरण दिएको छ।
धनगढीमा आज पत्रकार सम्मेलन गर्दै अस्पतालले वैशाख ३१ गते गोरखापत्रमा प्रकाशित ‘दुई जना गर्भवती–सुत्केरीको ज्यान गयो’ र सोही समाचारलाई अतिरञ्जित बनाएर एक अनलाइनले ‘आमा मार्ने अस्पताल नै हो त धनगढीको निसर्ग अस्पताल?’ भन्ने शिर्षको समाचार प्रकाशित गरेको घटनालाई लिएर प्रकाशित गरेको समाचारप्रति प्रष्टिकरण दिएको हो।
गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार गौरीगंगा नगरपालिका ८ कि २० वर्षीया हिरा चौधरीको अघिल्लो बुधबार र सोही नगरपालिका २ की ३५ वर्षीया सरला तुलाधरको आइतबार निधन भएको भनिएको छ।
हिरा चौधरी वैशाख २१ गते राति उपचारका लागि राति ११ बजेर ५८ मिनेटमा आएको र उनमा सुगर देखिएकाले प्रारम्भिक उपचारपछि आधा घन्टामै गएको कुरा बुझ्दै नबुझी समाचारमा अस्पतालका कारण मृत्यु भएको भनिएको समाचारप्रति अस्पतालले आपत्ति जनाएको हो।
कुनै पनि मानिसको निधन हुनु दुःखद भएको भन्दै अस्पतालले समवेदना व्यक्त गर्दै उक्त समाचारमा जबरजस्ती आफ्नो नाम जोडिएकोमा असन्तुष्टि जनाएको हो।
त्यस्तै सरला तुलाधर पनि वैशाख ३० गते अस्पतालमा आएको र मुटुको विरामी रहेकी उनी ३१ गते स्वइच्छाले गएको विषयलाई पनि अतिरञ्जित बनाएर उल्लेख गरिएकोप्रति अस्पतालका अध्यक्ष तीर्थराज पन्तले असन्तुष्टि जनाएका छन्।
उनीहरु प्रारम्भिक उपचारका लागि निसर्गमा आएको भए पनि उनीको मृत्यु निसर्ग अस्पतालकै कारण भएको भनेर गोरखापत्रको समाचारलाई साभार गरेर जसरी एक अनलाइनले स्थापित गर्न खोजेको छ त्यसमा सम्बन्धित संचारमाध्यमको नियत सफा नदेखिएको पनि अस्पतालको दाबी छ।
स्वास्थ्य विज्ञानसँग जोडिएका विषयलाई विज्ञापनका लागि राखेका चाहना परिपूर्ति नहुँदैमा मनगणन्ते र कपोलकल्पित रुपमा प्रस्तुत गरिँदा सिंगो संचारजगतकै विश्वसनीयतामा धक्का लाग्ने भन्दै अस्पतालले चिन्ता व्यक्त गरेको छ।
निसर्ग अस्पताल