Logo
२२ पुस २०८१, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण : हज कमिटीका अध्यक्ष मियाँ सिंहदरबारबाटै पक्राउ

अक्षरपाटी
२०८० जेठ ४ , बिहीबार ०२:०५ मा प्रकाशित

काठमाडौं। सरकारी गाडी उपलब्ध गराएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सघाएको पाइएपछि नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको खुलेपछि मियाँलाई प्रहरीले खोजिरहेको थियो। तर उनी भने एक सातादेखि मोबाइल अफ गरेर सम्पर्क विहीन थिए।

आज भने उनी एकाएक सिंहदरबार भित्रैबाट पक्राउ परेका हुन्। उर्जा मन्त्रालयमा भएको सूचना पाएपछि प्रहरीले उनलाई केही कागजातसहित पक्राउ गरेको हो।

हज कमिटीको कार्यालय गृहमन्त्रालयमै भए पनि उनी केही दिनदेखि त्यहाँ जान छोडेको र नजिकका कर्मचारीलाई कागजात मगाएर बाहिरै हस्ताक्षर गर्ने गरेको पनि प्रहरीले बताएको छ।

आज उर्जामा बसेर काम गर्न खोजिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। उनले प्रकरणमा पक्राउ परेका सानु भण्डारी र मोरङका केशव दुलाललाई गाडी दिएको खुलेको हो। पक्राउ पछि उनलाई जिल्ला प्रहरी परिसर टेकु लगिएको छ।

आजै उनलाई अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गरिने प्रहरीले जनाएको छ। प्रकरणमा आजसम्म पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीलगायत १५ जना पक्राउ परिसकेका छन्।