Logo
१४ वैशाख २०८१, शुक्रबार

आफ्नै ग्राहकको डेढ करोडभन्दा बढी ठगी गर्ने एभरेष्ट बैंकका शाखा प्रमुखसहित ९ जना पक्राउ

अक्षरपाटी
२०८० जेठ ६ , शनिबार ११:०५ मा प्रकाशित

विराटनगर। आफ्नै ग्राहकको डेढ करोडभन्दा बढी रकम ठगी गर्ने एभरेष्ट बैंकका शाखा प्रमुखसहित ९ जना पक्राउ परेका छन्।

एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको रकम ठगी आरोपमा बैंकका शाखा प्रमुख म्यानेजर विश्वराज शाक्यसहित कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार बैंकको इटहरी शाखाबाट ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ रकम ठगी गरेको पाइएको छ।

पक्राउ पर्नेमा बैंकका शाखा प्रमुख शाक्य, विराटनगरका अप्रेसन इन्चार्ज निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर धावा लामा, इटहरीका देवराज घिमिरे, भोजपुर घर भएका मनोज घिमिरे, रन्जित पण्डित र टेलर पवित्रा कटवाल रहेका छन्।

ठगीमा संलग्न घनुषाका शंकर भुजेल र भक्तपुरका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राईले जानकारी दिए।

बैंकका कर्मचारीले बैंकको कम्प्युटर आईडी पासकोर्ड दुरुपयोग गरी कनेक्ट आईपीएसमार्फत १४ नोभोम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेको प्रहरीले जनाएको छ।

त्यस्तै सिस्टम दुरुपयोग गर्दै ग्राहकको निष्क्रिय खातालाई सक्रिय बनाएर ३५ लाख ४८ हजार १५० रुपैयाँ झिकेर हिनामिना गरेको पनि प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरुलाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसार कसुर मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको छ।

एभरेष्ट बै‌क ठगी