Logo
१३ वैशाख २०८१, बिहीबार

अन्ततः घुमाउरो बाटो भएरै अघि बढाइयो चौमाला-खैराला सडक

अक्षरपाटी
२०८० जेठ ८ , सोमबार १०:०५ मा प्रकाशित

कैलाली। पूर्वपश्चिम राजमार्गबाट कैलालीको चुरे गाउँपालिका ४ साविक खैराला गाविस जोड्ने सडक अन्ततः घुमाउरो पारेर निर्माण गर्ने प्रक्रिया अघि बढेको छ।

कैलालीको विकट क्षेत्रका रुपमा रहेको खैराला, रिठेखोला हुँदै शिवनगर जोड्ने उक्त सडक गौरीगंगा नगरपालिकाको चौमाला चौराहाबाटै निर्माण प्रक्रिया अघि बढेको हो।

गौरीगंगाको झिल चौराहाबाट निर्माण गर्दा करिब ६ किलोमिटर छोटो र तीनवटा पुल निर्माण नै नगर्नुपर्ने भएपनि राजनीतिक खिचातानीका कारण चौमाला चौराहाबाटै निर्माण गर्न प्रक्रिया अघि बढाइएको हो।

गौरीगंगा र चुरेको बीचमा रहेको पुतलीसेलौना दनी किनारमा बसेको अस्थायी बस्तीलाई आधार बनाउँदै सडक निर्माण घुमाउरो र तीन पुल बनाउनुपर्नेगरी अगाडि बढाइएको हो।

यस वर्ष १० किलोमिटर कालोपत्रे गर्नेगरी सडकमा पर्ने रुखहरुको लागत लिने कार्य सुरु गरिएको हो।

नेपाली कांग्रेका सुदूरपश्चिम प्रदेश सभापति तथा सांसद बीरबहादुर बलायरको पहलमा चुरे गाउँपालिकाका कांग्रेस निवर्तमान सभापति टीकाराम ढुंगाना, कांग्रेसका स्थानीय नेता सुरत रावत, कृष्ण मल्ल, हेम बिष्ट, सडक जिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर भोजराज राना, इलाका वन खैरालाका अधिकृत मनोज ढकाल, इलाका वन कार्यालय चौमालाका निमित्त प्रमुख ओमप्रसाद उपाध्याय लगायतको उपस्थितिमा सडकमा पर्ने रुखहरुको लागत लिने काम थालिएको हो।

स्थानीय वुद्धिजीवी, नागरिक अगुवा, पत्रकार, स्थानीय वासिन्दालगायतले चौमाला चौराहाबाट सडक निर्माण गर्दा अत्याधिक घुमाउरो हुने र तीनवटा पुल निर्माण गर्नुपर्ने भएकाले लागत बढी हुने आवाज उठाउँदा उठाउँदै पनि चौमाला चौराहाबाटै सडक निर्माण अघि बढाइएको हो।

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले पनि अक्षरपाटीसँग कुरा गर्दै झीलबाट करिब ६ किलोमिटर छोटो र ठूलो पुल निर्माण गर्नुनपर्ने अवस्था भएको बताउँदै, आफूले पनि झीलबाटै चाहेको तर अनेकन दबाबले चौराहाबाट निर्माण प्रक्रिया अघि बढाइएको बताए।

‘चौमाला चाैराहाबाट सडक बनाउँदा चारकोसे झाडीभित्र तीनवटा ठूला पुल र तीनवटा साना पुल निर्माण गर्नुपर्छ, त्यसले करोडौं बजेट चारकोसे झाडीमै सकिन्छ’, अध्यक्ष बोगटीले भने, ‘झीलबाट बनाउँदा जति चाँडो हामी पिचबाटी लिएर खैराला दरबार पुग्न सक्छौं चौमाला चौराहाबाट सडक बनाउँदा भएभरको बजेट नदीमै सकिन्छ।’

गौरीगंगाको झीलबाट खैराला सडक निर्माण हुँदा छोटो रुट मात्रै होइन, पुल बनाउनै नपर्नेदेखि रुख पनि थोरै काट्नुपर्ने जानकारहरु बताउँछन्।

चरे गाउँपालिकाकाका कांग्रेस निवर्तमान सभापति टिकाराम ढुंगाना भने १० वर्ष अघि ने डिपीआर चौमाला चौराहाबाटै भएकाले सोही अनुसार सडक निर्माण प्रक्रिय अघि बढेको बताउँछन्।

तर चौमाला चौराहाबाट सडक लैँजादा घुमाउरो मात्र होइन, चुरे फेदीमा फैलिएको फाँटमा तीनवटा पुल निर्माणदेखि धेरै रुख काट्नुपर्ने अवस्था भएको स्थानीयहरु बताउँछन्।

उनीहरुको आशंका छ, ‘बढी बजेट लागत हुने, पुल निर्माणमा पनि बटेज खर्च हुने र धेरै रुख कटानी हुँदा अमुकपक्षलाई फाइदा हुने भएरै घुमाउरो बाटो रोजिएको हुनुपर्छ।’

तर सडक डिभिजन कार्यालयका इन्जिनियर भोजराज राना भने डिपीआर र ईआईए जे जसरी बनेको छ सोही अनुसार आफूहरुले प्रक्रिय अघ बढाएको बताउँछन्। ‘हामीले त जस्तो डीपीआर बनेको छ, जसरी ईआईए तयार छ सोही अनुसार काम अघि बढाउने हो’, उनले भने, ‘कहाँबाट छोटो पर्छ, कहाँ कम खर्चिलो हुन्छ त्यो बुझने कुरा स्थानीय नेता र जानकारहरुको हो।’

उनले पुन: डीपीआर, ईआइ बनाउने हाे भने प्रक्रिया पुन: लम्बिने पनि बताए।

मंसिर ४ को निर्वाचमा पनि स्थानीय नेतादेखि विभिन्न पार्टीका उम्मेदवारसँग स्थानीय बासिन्दाले झिलबाटै सडक बनाउन माग गरेका थिए।

झिल चौराहाबाट सडक निर्माण गर्दा स्थानीय सामुदायिक वन र स्थानीय जनताले चुरे फेदिसम्म आफ्नै खर्चमा सडक बनाइदिएकाले पनि चुरेका लागि व्यभार अझै कमपर्ने भए पनि चौराहाबाटै सडक निर्माण प्रक्रिया अघि बढाइनु रहस्यमय भएको स्थानीय बासिन्दाको गुनासो छ।

यसपटक २५ करोडमा १० किलोमिटर कालोपत्रे सडक निर्माण गरिने चर्चा गरिएको छ।

तस्विर: सुरत रावतको फेसबुकबाट

चरे गाउँपालिका चौमाला-खैराला सडक