Logo
१५ वैशाख २०८१, शनिबार

‘धर्तीको स्वर्ग’ खप्तडमा आध्यात्मिक सम्मेलन

अक्षरपाटी
२०८० जेठ ९ , मंगलबार ०८:०५ मा प्रकाशित

काठमाडौं। ‘धर्तीको स्वर्ग’ भनेर चिनिने सुदूरपश्चिमको खप्तड क्षेत्रमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको छ।

खप्तडमा पहिलोपटक यसखालको सम्मेलन हुन लागेको हो। सुदूरपश्चिम प्रदेश सरकार र खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा सम्मेलन हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

जेठ २३ देखि २५ सम्म ३ दिन चल्ने सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेश र बालकृष्ण आचार्य पनि सहभागी हुनेछन्।

काठमाडौंमा पत्रकार सम्मेलन गरी आध्यात्मिक सम्मेलन आयोजनाका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा चार सय एक सदस्यीय मूल तयारी समिति गठन भएको जानकारी समेत गराइयो। समितिअन्तर्गत १२ उपसमिति गठन गरिएका छन्।

सुदूरपश्चिमका बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा छ।

खप्तडक्षेत्र अहिलेसम्म सडक मार्गले जोडिएको छैन। खप्तड क्षेत्रमा खप्तडबाबाले पाँच दशकसम्म साधना गरेका थिए। हरेक गंगा दशहरामा खप्तड क्षेत्रमा ठूलो मेला लाग्ने गरेको छ। जहाँ सुदूरपश्चिमका साँस्कृतिक झाँकी प्रदर्शन हुने गर्छन।