Logo
१४ वैशाख २०८१, शुक्रबार

रवि लामिछानेले भने : नाम मुछिएकाहरुलाई प्रहरीसम्म पुग्न रेड कार्पेट ओछ्याइदिउँ तर बयान लिउँ

अक्षरपाटी
२०८० जेठ १० , बुधबार ०२:०५ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कतै कमजोर बनाउन थालिएको हो कि ? भन्दै शंसय प्रकट गरेका छन्।

प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै सांसद लामिछानेले प्रकरणमा नाम जोडिएका हरएकको छानबिन गर्न माग गरे।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्री ज्यू नपाईँले मुटु कमाउँदिनँ भन्नुभएको थियो, अब म तपाईँको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नोस्। काँप्दैन भन्ने तपाईँको मुटु काँप्यो कि भन्ने मलाई शंका लागेको छ।’

उनले नाम मुछिनेबित्तिकै बेपत्ता भएर बयान सकिएपछि संसदमा प्रकट हुने सांसददेखि, मिडियामा पुगेर तामा तुलसीको कसम खानेमाथि पनि छानबिन हुनुपर्ने माग गरे। उनले प्रश्न गरे, ‘नाम लिइएका सर्वसाधारणको हकमा पनि यही नियम लागु हुन्छ ?’

प्रतिनिधि सभाको बैठकमा उनले भने, ‘शरणार्थी प्रकरणमा कसैलाई बालुवाटारमा, कसैलाई सिंहदरबारमा, कसैलाई मन्त्री क्वाटरमा पैसा बुझाएको जस्ता विवरण आइरहेका छन्। नाम मुछिँदैनमा कोही दोषी नै हो भन्न मिल्दैन तर राज्यले छानबिन गर्न सक्छ, नाम आएको व्यक्ति बेपत्ता हुन्छ अनि सामसुम हुन्छ। यो शंसय जन्माउने प्रवृति हो।’

उनले कुनै पनि आरोपमा ‘हाइप्रोफाइल’ नहुने फाइलअनुसार व्यवहार गर्नुपर्ने बताउँदै भने, ‘म संचारगृहको कार्यकक्षमा थिएँ, बयानका लागि आउँछु भन्दै थिएँ, तर मलाई प्रहरीले बुट बजार्दै आएर लगेको थियो, त्यसैले कसैलाई पनि हाइप्रोफाइल होइन, नाम मुछिएपछि फाइलअनुसार व्यवहार हुनुपर्छ।’

उनले नाम मुछिएकालाई जुत्तामा हिलो नलागोस भनेर बरु रेड कार्पेट ओछ्याइ दिनुस् तर छानबिन गर्नुस भन्दै सरकारको ध्यानाकर्षण गराए।

लामिछानेले नाम जोडिएकाहरुलाई एकपटक बयानका लागि सम्म नबोलाएर अविश्वासको वातावरण सिर्जना नगर्न पनि आग्रह गर्दै भने, ‘तपाईँहरु तीन दल बसेर खासखुस गर्नुभयो, त्यसको गन्ध संसदसम्म ठासठुस अयो। त्यसलाई रोक्नुस्, जनताको विश्वास डगमगाउन नदिनुस्।’