




विराटनगर । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थामा करिब ११ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेका बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (शिव लामिछाने) पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले लामिछाने पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार उनलाई कोशी प्रदेशभित्रैबाट पक्राउ गरिएको हो। पक्राउ परेको स्थान भने प्रहरीले सार्वजनिक गरेको छैन।
डीआईजी खनालका अनुसार सहकारीमा आर्थिक अनियमितता भएपछि लामिछाने फरार रहँदै आएका थिए। प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो।
धरान उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाएर सञ्चालन हुँदै आएको बराह सहकारी २०७९ सालदेखि आर्थिक संकटमा परेको थियो। पछि २०८२ भदौ २२ गते धरान उपमहानगरपालिकाले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो।
सहकारीमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन भएको दाबीसहित २६२ जनाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरिएको थियो। मुद्दामा बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मासहितका प्रतिवादीहरू फरार रहेका थिए।
अनुसन्धानका क्रममा सहकारीबाट अपचलन भएको अधिकांश रकम बराह ग्रुप अफ कम्पनीअन्तर्गत सञ्चालित विभिन्न १४ वटा कम्पनीमा लगानी गरिएको खुलेको थियो। सहकारीको कुल दायित्व १० अर्ब ८९ करोड ९५ लाख २० हजार २३५ रुपैयाँ रहेको छ।
उक्त रकममध्ये बराह ज्वेलरीले सहकारीका नाममा ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ संकलन गरेको देखिएको छ। सहकारीको दायित्व पूरा गर्न सञ्चालकहरूबाट १० अर्ब ७१ करोड ४३ लाख ४७ हजार रुपैयाँ असुल गर्नुपर्ने अनुसन्धानको निष्कर्ष छ।
बराह ग्रुपले देशभरका सर्वसाधारणको करिब १४ अर्ब रुपैयाँ डुबाएको अनुमान गरिएको छ। सुनसरी प्रहरीको अनुसन्धानले धरानमा मात्रै १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको देखाएको थियो। यसबाहेक चितवन, काठमाडौं र कास्कीमा समेत बराह समूहले सर्वसाधारणबाट रकम संकलन गरेको थियो।
धरानबाहिर पनि बराह ग्रुपले विभिन्न कम्पनीमार्फत आफ्नो व्यावसायिक सञ्जाल विस्तार गरेको थियो। काठमाडौंमा इन्द्र बराह ट्राभल्स एन्ड टुर्स प्रालि, नारायण बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि (भरतपुर), गोरखा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि (पोखरा), बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि (काठमाडौं), बराह प्रपर्टी सर्भिसेज प्रालि, बराह नेसनल इन्भेस्टमेन्ट प्रालि र ड्रिमल्यान्ड रियल स्टेट प्रालिलगायत कम्पनी सञ्चालनमा थिए।
बराह ग्रुपको व्यावसायिक यात्रा २०५२ सालमा सुरु भएको थियो। भोजपुरबाट धरान आएका इन्द्र लामिछाने (विश्वकर्मा) ले धरानका लाहुरे परिवारलाई लक्षित गरी बराह ज्वेलरी इन्टरप्राइजेज स्थापना गरेका थिए।
सुरुवाती चरणदेखि नै ज्वेलरी व्यवसायमार्फत आकर्षक ब्याज दिने प्रलोभन देखाएर सर्वसाधारणबाट बचत संकलन गर्ने गरिएको थियो। व्यवसाय विस्तार हुँदै ब्रान्डका रूपमा स्थापित भएपछि बराहले आफ्नो नामसँगै ‘विश्वासको प्रतीक’ भन्ने नारा जोडेको थियो।
सुन पसलबाट बचत तथा ऋण कारोबार गर्न नपाइने भएपछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको थियो। त्यसपछि सहकारीमार्फत बराह ग्रुपअन्तर्गतका विभिन्न कम्पनीमा ठूलो रकम लगानी गरिएको थियो।
उपलब्ध अनुसन्धान विवरणअनुसार सहकारीको रकम बराह ज्वेलरी प्रालिमा २७ करोड २८ लाख ४९ हजार रुपैयाँ, बराह फेमिली किचेनमा ३ करोड ४ लाख २७ हजार रुपैयाँ, बराह डिपार्टमेन्ट स्टोरमा ८७ लाख ९६ हजार १८८ रुपैयाँ, बराह भेडेटार मल्टिपर्पोज प्रालिमा ४ करोड ८६ लाख ८९ हजार रुपैयाँ तथा बराह कृषि उपज तथा पशुपालन प्रालिमा ४ करोड ६८ लाख ३ हजार ३८२ रुपैयाँ लगानी गरिएको थियो। भेडेटार मल्टिपर्पोज प्रालिमा थप २८ लाख २५ हजार २३८ रुपैयाँ लगानी भएको विवरण पनि उल्लेख छ।
२०५२ सालमा स्थापना भएको ज्वेलरी व्यवसायले २०६९ सालसम्म आइपुग्दा आफ्नो व्यावसायिक साम्राज्य विस्तार गरिसकेको थियो। तर, सोही वर्ष माघमा हङकङ पुगेका बेला इन्द्र लामिछाने झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
उनको मृत्युपछि बराह ग्रुप क्रमशः समस्यामा पर्दै गएको थियो। कोरोना महामारीपछि समूहको आर्थिक अवस्था थप कमजोर बनेको र अन्ततः सहकारी गम्भीर संकटमा परेको थियो।
पक्राउ बराह बचत तथा ऋण सहकारी संस्था शिव लामिछाने

