काठमाडौं। सात जना शुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गरी भएको टिकापुर घटनाका दोषी रेशम चौधरीलाई आम माफी सम्बन्धी प्रस्ताव राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेका छन्।
आज राष्ट्रपति कार्यालयले चौधरीलाई आममाफी दिने सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो।
टिकापुर घटनामा दोषी ठहरिएका चौधरीलाई सरकारले आममाफी दिने प्रक्रिया अनुरुप बुधबार गृह मन्त्रालयमार्फत प्रस्ताव राष्ट्रपति कार्यलय पठाएको थियो।
तर, कानुन नपुगेको देखिएको तर्कासहित प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाइएको हो।
चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
२०७२ भदौ भदौ ७ गते कैलालीको टीकापुर घटनामा अदालतबाट दोषी ठहर भइ चौधरीले जन्मकैदको सजाय भुक्तान गरिरहेका छन्।
चौधरीलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने सरकारले तयारी गरेको थियो।