Logo
२३ भदौ २०८२, सोमबार

गर्मी बढेसँगै अस्पतालमा बिरामी बालबालिकाको चाप

अक्षरपाटी
२०८० जेठ २७ , शनिबार १२:०६ मा प्रकाशित

काठमडौं। देशका कतिपय स्थानमा गर्मीको पारो ४४ डिग्री सेल्सियससम्म नाघेको छ। कम गर्मी हुने काठमाडौं उपत्यकामा पनि अत्याधिक गर्मी महसुस हुन थालेको छ।

देशभर गर्मी बढेसँगै अस्पतालहरुमा बिरामी र विशेषगरी बिरामी बालबालिकाको चाप बढेको अस्पतालहरुले जनाएका छन्।

दुई सातायता अस्पतालको ओपिडी र इमर्जेन्सीमा बिरामी बालबालिकको संख्या बढेको अस्पतालहरुले जनाएका छन्।

कान्ति बाल अस्पतालको ओपिडीमा दिनहुँ करीब ९ सयसम्म बिरामी बालबालिका उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ। दुई साता अघि यो संख्या करिब ६ सय थियो।

त्यस्तै बीर अस्पताल, केएमसी अस्पताल, सिभिल अस्पताल मात्र होइन, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा पनि बिरामीको चाप बढेको सम्बन्धित संस्थाहरुले जनाएका छन्।

अस्पताल आउने बालबालिकामा रुघाखोकी, भाइरल ज्वरो, झाडा पखाला, पेट दुख्नेलगायतका समस्या देखिएका छन्।

बढी उमेरका बिरामी पनि त्यस्तै लक्षण लिएर आउने गरेको चिकित्सकहरुले बताएका छन्।

गर्मी अत्याधिक बढेकाले अत्यावश्यक काम बिना घर बाहिर ननिस्कन, ताजा तथा पोषिलो र झोलिलो खानेकुरा खुवाउन धुवाँधुलोबाट जोगाउन चिकित्सकहरुले सुझाव दिएका छन्।

गर्मी बालबालिका