काठमाडौं । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको विभिन्न व्यक्तित्वले दावी गरेका छन्।
मुलुकका ६ दर्जन भन्दाबढी सिनेमा हलमा प्रदर्शन भइरहेको यो चलचित्रको सोमबार काठमाडौंको वान सिनेमा हलमा विशेष शो आयोजना गरिएको थियो।
समारोहमा यो चलचित्रलाई पूर्व उपप्रधानमन्त्री डा भिम रावल, पूर्व मन्त्रीहरु बुद्धिमान तामाङ, परशुराम तामाङ, राप्रपाकी साँसद रोशन कार्की, युवा संघका अध्यक्ष छितिज थेवे, पुर्व राजदुत गणेश योञ्जन, अभिनेत्रीहरु करिश्मा मानन्धर, पल्पसा डँगोल, अभिनेता गजित बिष्ट, निर्देशक एवम् अभिनेता दिनेश डिसी, गायिका सुनिता दुलाल, कान्तिपुरका प्रधान सम्पादक उमेश चौहान, ऋषी धमलालगायतले हेरे।
चलचित्र आफुहरुलाई निकै मनपरेको प्रतिक्रिया उनीहरुले दिए।
पूर्व उपप्रधानमन्त्री भिम रावलले चलचित्र नीरफुल हेरेपछि भने, ‘२०७२ सालका विनाशकारी भूकम्पलाई हामीले बिर्से पनि त्यसले पारेको असर अहिलेसम्म यो चलचित्रले समेटिएको रहेछ। नेपालीहरुलाई नेपालीले नै कसरी बिक्री गर्छन् भन्नेकुरा शरणार्थी प्रकरणमा अहिले ताजै रहेको बेला त्यस्तै कथा चलचित्र नीरफूलमा मैले हेर्न पाएँ।’
यस्तै पूर्व मन्त्री एवम् राप्रपाको नेता बुद्धिमान तामाङले आफुलाई निकै मन परेको रुबी भ्यालीलाई फिल्ममा अत्यन्त सुन्दर रुपमा हेर्न पाउँदा साह्रै आनन्द आएको बताए। यो फिल्मले राजनीतिक रुपमा धेरै कुराहरु समेत भन्न खोजेको उनले दावी गरे।
अभिनेत्री करिश्मा मानन्धरले भूकम्पका बेलाको मर्मस्पर्शी सन्दर्भ यो फिल्मले यतिबेला आफुलाई सम्झाएको बताईन् । देश कुन अबस्थामा गईरहेको छ भन्नेकुरा यो चलचित्रले दर्शाएको उनले दावी गरिन्।
अभिनेता गजित बिष्टले यो चलचित्रमा निर्देशक फुलमान वलले निकै सानो–सानो कुरामा मेहनत गरेर थुप्रै विषयबस्तुलाई सिनेमामा समान रुपमा उतार्न सकेको बताए।
चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन्। जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । सिनेमा गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गायका छन्।
यो चलचित्रमा अभिनेता दयाहाङ राईसँगै शान्ति वाईबा, बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फुर्वालगायतको मुख्य भूमिका छ।