Logo
१५ वैशाख २०८१, शनिबार

निराशामाथि आशाको सञ्चारः बालेनको अडान र धरानको पानी

अक्षरपाटी
२०८० असार १ , शुक्रबार ०७:०६ मा प्रकाशित

माटोप्रतिको मोह, कामप्रतिको लगाव, वचनप्रतिको प्रतिवद्धता, जिम्मेवारीप्रतिको इमान्दारिता योभन्दा अर्को बिम्ब अहिलेको समयमा दोस्रो पाइँदैन।

o शंकर खैराली

एक्लो ठिटो धरानको चोक चोकमा ठिङ्ग उभिएर मेयर बन्छु भनिरहँदा। हाते माइकमा कुर्ली कुर्ली धराने जनतालाई पानी खुवाउने वाचा गरिरहँदा, सायद पार्टीका ध्वजावाहक गाडीमा सवार दलका उम्मेदवारहरुको कोलाहलले त्यो आवाज सुनिएन।

धेरैले खिसीट्युरी पनि गरे। न दल छ, द दलबल छ, न चमक-धमक न खर्च-खजाना, र पनि एक आम मान्छेले देखेको महत्वाकांक्षा कति ठूलो?

अघिल्लो वैशाख ३० गतेको स्थानीय निर्वाचनमा खसेको मतले भने त्यही ‘जुनुन’ बोकेको ‘गवाँर’ हर्क साम्पाङलाई अत्याधिक मतले विजयी गरायो।

नगरपिताका रुपमा धरानबासीले हर्कलाई स्वीकारे। आफ्नो भाग्य र भविश्यको जिम्मा ‘एक्लो’ उभिएको हर्कको काँधमा थमाइदिए। र आफू श्रमदानका नाममा हातमा हात जाेडन् लामवद्ध भए। आँखिर किन त?

यता काठमाडौं महानगरमा कतिपयले चिन्दै नचिनेको, जान्दै नजानेको बालेन शाह मेयरको उम्मेदवार बने।

सामान्य र्यापरको परिचयमा सिमित बालेन राजधानीबासीको नेतृत्व गर्ने हिम्मत देखाएर मैदान उत्रिए।

राजधानीबासीका कोठा कोठामा बसेका युवा पुस्ता, विदेशमा श्रम गरेर रेमिट्यान्स पठाइरहेका नेपालीको मन मनमा बालेन आफ्नो योग्यताले जानेको सुन्दर काठमाडौंको मिहीन इन्जिनियरिङ गर्दै थिए।

मसिना लाग्ने तर झण्झटिला, किचेनभित्रको तर दिनैपिच्छेको फोहर, बाटो किनारका तर सँधैका अवरोध, विद्यालयभित्रका तर व्यथितिका विषय, अस्पताभित्रका तर अमानवीयताका कथा, सुविधासम्मन्न सहर तर सौचालयकै समस्या, उनी सुधारको सपनाको नक्सा जनताको विश्वासमा कोर्दै थिए।

निर्वाचन सम्पन्न भयो, अपत्यारिलो मतसहित बालेनले विजयको अबिर लगाए। नगरवासीले नगरपितका रुपमा स्वीकारे। आँखिर किन?

इतिहास बोकेका र इतिहास ‘रचेका’ दलहरु कोही घमन्डमा थिए, कोही गठबन्धनमा थिए। गठबन्धनबाट पाएको भागबन्डा दलभित्र र दलबाट परिवारबादमा पुग्यो।

कसैका भाइ, कसैका साला, कसैका श्रीमती, कसैका छोरी, कसैका ज्वाइँ त कसैका भतिजा, यतिसम्मकी कतिपयका त ‘गर्लफ्रेन्ड’सम्मले टिकट पाएको चर्चाले आम जनताको मन विछिप्त थियो।

यही निराशा र बालेन, हर्क र गोपाल हमालहरुले देखाएको सपना र बोलीमा विश्वास गरेर विकल्प खोजिरहेका जनताले बिकल्प रोजे।

तुलनात्मक रुपमा आज हर्क साम्पाङ र बालेन शाहलाई आफ्नो नगरको जिम्मा दिएकोमा उनीहरुका नगरबासी पछुतो होइन, गर्व गरिरहेका छन्।

यद्यपि स्वतन्त्र सबै मेयरसापहरुमा हिजोको जुनुन देखिँदैन। शीर्ष नेता र नेताका आफन्तको फेयर समातेर आफू बलियो बन्ने, नगरको रकममा बनेका योजना पार्टीमा प्रभावशाली भनिएकाहरुको ‘करकमल’बाट उद्घाटन गराएर जस दिने काममा देखिएका पनि छन्।

तर हर्क र बालेन आफ्नो वचनवद्धामा आजका दिनसम्म चट्टानी अडानमा देखिएका छन्। हर्क साम्पाङले ९८ दिनमा जनश्रमदानबाटै ४२ किलोमिटर भीरपाखा छिचोलेर ल्याएको पानी, गाउँदेखि बगरसम्म फैलाउन खोजेकाे हरियाली सभ्यता, विद्यालय विद्यालयमा लगाउन खोजेको माटोको मोह, किशोरदेखि युवामा भर्न खोजेको दुर्व्यसनी विरुद्धको चेतको समाचार पुरानो होला तर उनले दिन खोजको शन्देस सँधै नयाँ छ।

माटोप्रतिको मोह, कामप्रतिको लगाव, वचनप्रतिको प्रतिवद्धता, जिम्मेवारीप्रतिको इमान्दारिता योभन्दा अर्को बिम्ब अहिलेको समयमा दोस्रो पाइँदैन।

हो चाह्यो भने परिवर्तन एक जनाबाट पनि सम्भव छ भन्ने व्यवहारिक सन्देशका अर्का सम्वाहक बनेका छन्, बालेन। इच्छशक्ति र आँट भयो भने परिवर्तन र विकास धेरै परको कुरा होइन भन्ने दृष्टान्त बालेनले दिनैपिच्छे दिएका छन्।

कुनै समय राजधानीको सडक चौडा गर्दा राजनीतिक दलकै नेता सडकमा सुतेर विरोध गरेका उदाहरण यही सहरमा देखिएका हुन।

तर बालेनले दलमा मात्र होइनन् र शक्ति केन्द्रसँग राम्रै पहुँच हुनेहरुका घरमाथि पनि, पर्खालमाथि पनि डोजर चलाए। आज देशैभरका अनधीकृत संरचनामा डोजर चलाउने साहस बालेनले नै दिएका हुन भन्दा कसैले नाक खुम्च्याउनुपर्ने अवस्था छैन।

अनुगमनमा चुके पनि, निरन्तरतामा कमी भए पनि राजधानीमा सार्वजनिक सौचालयको व्यवस्थापनमा बालेन अगाडि सरे। फोहोर व्यवस्थापनको लडाइँमा उनी संघीय सरकारसँग टसको मस झुकेनन्, बरु सिंहदरबारलाई हप्तौँ फोहोरको अनुभूति गराए।

अनधिकृत वस्ति हटाउन उनी आफै सुकुम्वासी वस्तीमा पुगे र दलीय आडमा देखिएको उग्रताको सामना गर्न पनि तयार भए।

विद्यालयले विद्यार्थी र अस्पताल गरिब बिरामीलाई दिनुपर्ने निश्चित कोटाको पाठ संघीय सरकारलाई बालेनले नै सिकाउनुपर्यो।

जम्बो टोली लिएर भारत भ्रमणमा जानुपूर्व ‘जिस्क्याए झैँ’ भारत सरकारले नयाँ संसद भवनमा राखेको मुरालको नक्शाबारे प्रधानमन्त्रीदेखि मन्त्रिहरु चुइँक्क नबोलेको विषयको प्रतिवाद बालेनले ग्रेटर नेपालको नक्शा कार्यकक्षमा राखेर गरे।

तरकारीमा भएको विषादी जाँच गर्ने निर्णयमा संघीय सरकार दरो रुपमा नउभिएका बेला राजधानीबासीलाई विषादी मिसिएको भारतीय तरकारीमा प्रतिबन्ध लगाउने आँट बालेनले गरेका छन्।

पछिल्लोपटक उनले दक्षीण भारतीय फिल्म ‘आदिपुरुष’मा ‘जानकी भारतीय छोरी हुन’ भन्ने विषय भारतमा समेत नसच्चिएसम्म काठमाडौं महानगरका हलमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन हुन नदिने अडान लिएका छन्।

यो उनको राष्ट्रियता, स्वाभिमानप्रतिको कठोर इमान्दारिता हो। भले यसलाई कसैले अधिकार क्षेत्रबाहिरको कुरा भन्ला। यसो भन्दै गर्दा भारतले नेपालको ऐतिहासिक सत्यलाई बग्याउने अधिकार छ कि छैन ? भन्ने प्रश्न पनि सँगै उठ्ला।

त्यसैले विषाक्त बन्दै गएको नेपाली राजनीतिक आकाशमा बालेन र हर्क साम्पाङहरुको यो दृढता, इमान्दारिता, आँट र अठोटले निराश बन्दै गएका नेपाली मनहरुमा थोरै भए पनि आशाको सिँचाइ गरेको छ।

यत्ति हो कि बालेनले यो सब गरिरहँदा सडक र नाङलोको भरमा लालाबाला पाल्दै आएकाहरुको विवशतालाई भने व्यवस्थापन गर्नैपर्छ।

बालेन शाह हर्क साम्पाङ