काठमाडौं,सावन ७। सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसीका) उच्च स्तरीय टोली आज नेपाल आउँदै छन्। पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको टोली आज नेपाल आउन लागेको हो।
युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आउन लागेको हो। नेपालमा रहँदा युयानको टोलीले शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने छन्।
सीपीसीको केन्द्रीय कमिटी बैठकले जुलाई १६ देखि २५ तारिखमा युयानको नेतृत्वमा तीन देशमा भ्रमणमा पठाउने निर्णय गरेको थियो। यसैबीच शनिबार एयर चाइनाको उडानबाट ५ चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरु काठमाडौं आइपुगेका छन्।
पछिल्लो समय सीपीसी र माओवादी केन्द्रबीचको सम्बन्धमा बढोत्तरी भएको देखिन्छ। केही समयअघि सीपीसीको निमन्त्रणामा पूर्वसभामुखसमेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन भ्रमण गरेका थिए। त्यसलगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाको नेतृत्वमा सांसदहरूको टोलीले पनि चीन भ्रमण गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बरमा हुने भनिए पनि आधिकारिक मिति अझै तय भएको छैन।
चीनले प्रधानमन्त्रीका भ्रमणका बेला बिआरआई परियोजना कार्यान्वयनको ठोस खाकाका विषयमा तयारी गरिरहेको बताइएको छ।