काठमाडौं,८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी बाहेक प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ ।
‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ । अरू प्रदेशहरुले अधिवेशनको मिति तय गरिसक्यो’, केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले भने ।
उनका अनुसार, कोशी प्रदेशको अधिवेशन १२-१३ असोजमा हुनेछ । मधेश प्रदेशले ५-६ असोज र बागमती प्रदेशले ८-९ असोजमा अधिवेशन गर्ने भएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ । १६-१७ भदौमा लुम्बिनी, २९-३० भदौमा कर्णाली र २२-२३ भदौमा सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ ।
अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो । अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ ।
प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी छ ।
प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ । त्यसका लागि एमालेले फरक भूगोलका नेताहरुलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ भने प्रदेशको इन्चार्ज पार्टी सचिवहरुलाई जिम्मा दिएको छ ।