Logo
७ पुस २०८१, आईतबार

६ महिनामा ४ हजार २८९ जनामा डेंगु संक्रमण, सातको मृत्यु

अक्षरपाटी
२०८० साउन ११ , बिहीबार ०९:०७ मा प्रकाशित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यसपालि बर्खायामको सुरुवातीमै डेंगु संक्रमण बढेको हो । गत वर्ष काठमाडौं उपत्यकामा प्रकोपको रूप लिएको संक्रमण हाल सबैभन्दा धेरै कोसी प्रदेशमा फैलिएको छ । जनवरीयता कोसी प्रदेशमा दुई हजार सात सय ५४, बागमतीमा ६ सय ६७, गण्डकीमा तीन सय ४४, सुदूरपश्चिममा तीन सय १६, लुम्बिनीमा एक सय ६६, मधेसमा २२ र कर्णाली प्रदेशमा २० जनामा संक्रमण देखिएको महाशाखाको तथ्यांक छ ।

सुनसरीमा सबैभन्दा धेरै संक्रमण देखिएको छ । दुई हजार पाँच सय ४२ जनामा संक्रमण भएकोमा सातको ज्यान गएको छ । सुनसरीपछि धादिङमा संक्रमण तीव्र देखिएको छ । महाशाखाको तथ्यांकअनुसार धादिङमा जनवरीयता चार सय एकजनामा संक्रमण देखिएको हो । त्यस्तै, कास्कीमा दुई सय पाँच, दार्चुलामा एक सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रूपन्देहीमा ४५ र मोरङमा ३८ जनामा संक्रमण देखिएको छ । यी १० जिल्लामा संक्रमण उच्च छ ।

हालसम्मकै सबैभन्दा उच्च संक्रमण देखिएको गत वर्षको तुलनामा यो वर्ष संक्रमण झन् फैलिन सक्ने भन्दै लामखुट्टे खोज र नष्ट गर अभियान जोखिमयुक्त स्थानमा सुरु गरिएको इडिसिडीले जनाएको छ । गत वर्ष अतिप्रभावित भएकाबाहेक जिल्लामा पनि यो वर्ष संक्रमण देखिन थालेकाले रोकथाम र नियन्त्रण थालिएको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए ।

‘संक्रमण बढ्न सक्ने अनुमान गरिएकाले गत पुसमै डेंगु संक्रमण रोकथाम र नियन्त्रणको विस्तृत कार्ययोजना बनाएर काम गरिरहेका छौँ । जसमा स्वास्थ्य संस्था, संघ, प्रदेश र स्थानीय सरकार तथा आममानिसको भूमिकाबारे प्रस्ट पारेका छौँ । कार्यविधि कार्यान्वयनका लागि प्रभावित क्षेत्रमा समन्वय गरी लामखुट्टे खोज र नष्ट गरलगायतका अभियान सुरु गरेका छौँ,’ उनले भने । हाल अतिप्रभावित रहेका सुनसरी, धादिङ, काठमाडौंलगायतका स्थानीयसँग समन्वय गरी लामखुट्टे नियन्त्रणमा काम गरिरहेको डा. दाहालले बताए ।

यसबाहेक, संक्रमणदरसँगै मृत्युदर बढ्न सक्ने जोखिम रहेको भन्दै स्वास्थ्य संस्थाहरूलाई उपचार सेवा बढाउनसमेत छलफल गरिएको महाशाखाले जनाएको हो । हाल फैलिइरहेको डेंगुको सेरोटाइपसमेत पत्ता लगाएर उपचारमा सहजता ल्याउन अहिलेदेखि नै तयारी गरिरहेको बताइएको छ । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।