काठमाडौं,२१ साउन । विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरूले अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ । आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थीत विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।
यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग आउनुपर्ने बाध्यता रहेको थियो । अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएपछि सर्वसाधारणको समय र पैसाको बचत भएको परराष्ट्रमन्त्री साउदले बताए । सरकार गठन भइसकेपछि परराष्ट्र सेवालाई सहज र सुलभ बनाउन प्रयास गरेको उनको भनाइ छ।
त्यस्तै, मन्त्री साउदले राष्ट्रिय एकतालाई मजबुद गर्ने गरि परस्पर लाभका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापीत गर्न खोजिएको धारणा राखे । उनले विदेशी नीतिमा सबै पार्टीको सहमति हुनका लागि प्रयन्त जारी रहेको भन्दै राष्ट्रिय सहमतिका लागि सबै दलको विचार ग्रहण गर्न तयार रहेको बताए ।
वर्तमान सरकार गठन भएपनि प्रधानमन्त्रीको फलदायी भारत भ्रमण भएको र महत्वपूर्ण उपलब्धी हाँसिल भएको भन्दै मन्त्री साउदले सेप्टेम्वरको अन्तिम सातामा प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको जानकारी दिए।
विभागका अनुसार अनुसार गत आर्थिक वर्ष २०७९र८० मा विभागले तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको थियो । सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विभागले जानकारी दिएको छ ।