काठमाडौं,२८ साउन । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट पश्चिम-दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली सुदूरपश्चिममा बढी केन्द्रित भएकाले अति भारी वर्षाको प्रक्षेपण गरिएको हो ।
मौसमविद गोविन्द झाले आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको बताए । २४ घण्टाको अवधिमा २०० मिलिमिटर वा सोभन्दा बढी पानी पर्नुलाई ‘अति भारी वर्षा’ भन्ने गरिन्छ ।
अहिले नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) छ । साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ । यसको प्रभाव सोमबारसम्म कायम रहने र त्यसपछि क्रमिक सुधार हुने देखिएको मौसमविद झाले जानकारी दिए । ‘पानी त पर्छ तर अहिलेको जस्तो हुँदैन, क्रमिक सुधार हुन्छ,’ उनले भने ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार देशभर सामान्यदेखि पूर्ण बदली छ । सामान्य बदली भन्नाले ३६ देखि ५० प्रतिशत आकाश बादलले ढाकेको र पूर्ण बदली भन्नाले शतप्रतिशत आकाश ढाकिएको भन्ने बुझिन्छ ।