काठमाडौं,३ भदौ । संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे र प्रमुख सचेतकबीचको छलफल बिना निष्कर्ष सकिएको छ। आज बिहान सिंहदरबारमा बसेको बैठकमा सचेतकहरुले आ–आफ्ना दलका अडान राखेपछि बैठक निष्कर्षबिहीन भएको हो । बैठकपछि कांग्रेस सचेतक सुशीला थिङले अवरुद्ध सदन चलाउनका लागि निकास निकाल्नका लागि छलफल भएपनि दलहरुले आफ्नो अडान कायमै राखेको बताइन् ।
त्यस्तै सदनमा कांग्रेस सांसद सुनील शर्माको अभिव्यक्तिलाई रेकर्डबाट हटाउने वा नहटाउने भन्ने विषयमा पनि मतभेद कायमै रहेको उनको भनाई छ । बैठकमा सभामुख घिमिरेले समितिको नेतृत्व चयन प्रक्रिया बाँकी रहेकाले सदनको अवरोध हटाउनका लागि निरन्तर पहल गर्ने बताएको सचेतक थिङले जानकारी दिइन्।
यसैगरी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको बताए। उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान कायमै छ। बैठकमा कुरा मिल्न सकेन। अब प्रधानमन्त्रीले बोलाउनु भएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ।’
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी थिए ।
विमानस्थलबाट क्वीटल (पगालेपश्चात ६० किलो ७ सय १६ ग्राम) सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद बैठकमा अवरोध गरिरहेको छ।एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले पटक-पटक सारिरहेका छन्।
संसद बैठकमा एमाले सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरु नै सामेल भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिन समिति गठनका लागि रुलिङ गर्न माग गरेका थिए। तर, सभामुखले शुन्य समयको कारवाही अघि बढाउन खोजेपछि एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गर्ने गरेका छन्।