Logo
९ पुस २०८१, मंगलबार

कोशी, बाग्मती र महाकालीसहित देशका धेरै नदी तथा खोलामा बाढीको जोखिम

अक्षरपाटी
२०८० भदौ ८ , शुक्रबार १०:०८ मा प्रकाशित

काठमाण्डौ,८ भदौ । कोशी, बाग्मती, महाकालीसहित देशका धेरै नदी तथा खोलामा बाढीको जोखिम बढेको छ । जलसतह बढेपछि यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाग्मती नदीका कारण रौतहट र सर्लाहीमा जोखिम बढेपछि उच्च सतर्कता अपनाउन भनिएको छ । बाँकेको खजुरा र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको छ ।

बाँके, बर्दिया र कैलाली भइ बग्ने साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन आग्रह गरिएको छ ।

कैलालीको टीकापुर, चिसापानी, लमजुङ, ओखलढुङ्गा, सिन्धुली, सिरहालगायत क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । त्यहाँका नदी तथा खोलामा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ । त्यस्तै, बेसिसहर चामे सडक खण्डमा पहिरोको उच्च जोखिम छ ।

यसैबीच, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक बन्द भएको छ । हेलम्बु–४ को सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएकोे छ ।

कक्षाकोठा पनि जोखिममा परेका हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयो । सरस्वती माध्यमिक विद्यालयमा आज पठनपाठन नहुने प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिनुभयो ।