Logo
१० पुस २०८१, बुधबार

नेपाली चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

अक्षरपाटी
२०८० भदौ १५ , शुक्रबार ११:०९ मा प्रकाशित


काठमाण्डौ,१५ भदौ । ‘गाईजात्रा’ सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वको अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रवार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् ।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी हुन् ।

चलचित्रमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतले अभिनय गरेका छन् ।

बिहीवारदेखि नै प्रदर्शन गरिएको अर्को चलचित्र ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गरेका हुन् । उनकै लेखन रहेको यो चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा मुुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले अभिनय गरेका छन् ।

चलचित्रमा हरिबहादुर घलेले छायाङ्कन, विपिन मल्लले सम्पादन र कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।