Logo
२१ वैशाख २०८१, शुक्रबार

चाडबाडको बेला हवाइ भाडादरमा कालोबजारी भएको भन्दै मन्त्री समक्ष गुनासो

अक्षरपाटी
२०८० असोज २८ , आईतबार ११:१० मा प्रकाशित

काठमाडौं। फुलपातीको अघिल्लो दिन अर्थात कार्तिक ३ गते काठमाडौंबाट धनगढी जाने हवाइ भाडादर निजी विमान सेवा कम्पन्नीले कम्तिमा १४ हजार ७ सय तोकेका छन्। त्यही दिनगडीबाट काठमाडौका लागि भने ७ हजार ९ सय मात्रै भाडा दर तोकिएको छ। भाडादरमा यो असन्तुलन दसैँभरी नै देखिन्छ।

काठमाडौंबाट धनगढीका लागि तोकिएको भाडादर

काठमाडौबाट बाहिर जाने हरेक क्षेत्रको हवाइ भाडादर अहिलेदेखि नै उच्च बनाइएको छ। तर जिल्लाहरुबाट काठमाडौंका लागि भने भाडादर आधा कम छ। यो क्रम आज होइन, निजी हवाई सेवा प्रदायक, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सदेखि सौर्य एयरसम्मले हरेक चाडबाडमा यही शैली अपनाउँदै आएका छन्।

चाडबाडमा गाउँ फर्कने रहर र बाध्यताको मौकामा हवाई सेवा प्रदायकहरुले कालोबजार गरेको भन्दै नेपाल विद्यार्थी संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई भेटेर ध्यानाकर्षण गराएको छ।

त्यस क्रममा मन्त्री किराँतीले निजी विमान कम्पनीको मनोमानी रोक्न सरकारले यहीँ वर्षभित्र नेपाल वायुसेवा निगमका लागि १० वटासम्म जहाज खरिद गर्ने बताए। आज बिहान मन्त्री निवास पुलचोकमा नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडदारमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको थियो।

ज्ञापनपत्र बुझ्दै मन्त्रीले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडदारमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए।

धनगढीबाट काठमाडौ‌का लागि तोकिएको भाडादर।

उनले १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने दाबी गरे। उनले दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने समेत बताए ।

साथै, उनले चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए।

सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने उनको भनाइ थियो। उनले आजबाट नेपालगन्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गर्ने बताएका छन्।

त्यस्तै कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घका सभापति दुजाङ शेर्पाले चाडबाडको मौका छोपी कमाऊ धन्दामा लाग्नेहरूलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडा दर पर्नेकुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किराँतीको ध्यानाकर्षण गराए ।