काठमाण्डौ, २१ कात्तिक । ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ ।
गएको शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै सङ्घले विरोध गरेको हो ।
पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको ज्यान गएको थियो । दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै ज्यान गएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए ।
सङ्घका महासचिव डा सञ्जिव तिवारीले विज्ञप्ति निकालेर पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको ज्यान जानुको कारण खुलाउन पनि आग्रह गर्नुभएको छ ।
निमोनियाको सङ्क्रमणको उपचारका लागि उनीहरु दुवै जनालाई नियमित रुपमा चलाउँदै आइरहेको औषधि नै चलाइएको अस्पताल निर्देशक डा रवि शाक्यले बताउनुभयो । औषधि चलाएको केही समयमै बिरामीको ज्यान गएकाले आफन्तले शङ्का गरेका भए पनि औषधिको कारण नभइ गम्भीर खालको निमोनियाका कारण उनीहरुको ज्यान गएको शाक्यले बताउनुभयो ।
यसैबीच पाटन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरुले आजदेखि आकस्मिकबाहेकका सेवामा उपस्थित नहुने घोषणा गरेका छन् । चिकित्सिकहरुले विज्ञप्ति निकालेर कुटपिटको विरोधमा आजदेखि सेवा बन्द गर्ने जानकारी गराएका हुन् । दोषीलाई प्रचलित ऐन अनुसार कारबाही नहुँदासम्म सेवा बन्द गर्ने चिकित्सक, स्वास्थ्यकर्मीले बताएका छन् ।