धनगढी। करिब डेढ महिनाअघि प्यालेष्ट्राइनी बिद्रोही समूह हमासद्वारा अपहरण गरिएका सुदूरपश्चिमको बैतडीका बिपिन जोशीको अवस्था अझै खुल्न सकेको छैन।
उनको अवस्था अझै अज्ञात रहेको ईजरायलको तेल अबिवस्थित नेपाली राजदूतावासले जनाएको छ। परराष्ट्रमन्त्री सम्बद्ध श्रोतले उनी सकुसल रहेको दाबी गरे पनि दूतावासले भने अवस्था थाहा नभएको विज्ञप्तिमार्फत जनाएको छ।
जोशीलाई हमासले अक्टोबर ७ मा अपहरण गरी गाजातर्फ लगेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताको भनाइ उद्धृत गर्दै ईजरायलको तेल अबिवस्थित नेपाली राजदूतावासले जनाएको हो।
जोशीको अवस्था हालसम्म अज्ञात रहेको र उनको खोजी कार्य जारी रहेको समेत ईजरायलमा रहेको नेपाली राजदूतावासको विज्ञप्तिमा उल्लेख छ।
केही दिनअघि जोशीका परिवारजनले परराष्ट्र मन्त्री एनपी साउँदलाई भेटेर खोजी गरिदिन आग्रह गरेका थिए।
हमासको आक्रमणमा सुदूरपश्चिम विश्व विद्यालयको कृषि संकाय तर्फका अर्न एण्ड लर्न कार्यक्रमका सिलसिलामा ईजरायलमा रहेका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने जोशी अपहरणमा परेका थिए।