Logo
८ पुस २०८१, सोमबार

धनगढी उपमहानगरपालिकाले जोडिदियो मालपोत कार्यालयमा सोलार

अक्षरपाटी
२०८० माघ ४ , बिहीबार ०२:०१ मा प्रकाशित

धनगढी,४ माघ । धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा सोलार जडान गरेको छ।

भूमि सुधार तथा मालपोत कार्यालय, धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दोगोरिया गाउँपालिका र भजनी नगरपालिकाका जनताले सेवा लिने गर्दछन्।

विद्युत सेवा अवरुद्ध भएर मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ। धनगढी र अन्य स्थानीयतहबाट आएका सेवाग्राहीले एउटै कामका लागि ३/४ दिनसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको हो। सोलार पावर जडान भएसँगै बत्ती नभएको अवस्थामा पनि सेवाग्राहीको काम सुचारु हुनेछ।

धनगढी उपमहानगरपालिकाले ९ लाख ९८ हजारको लागतमा सोलार पावर जडान गरेको जनाएको छ। नेपाल उर्जा विकास कम्पनी प्रालि, काठमाडौंले भूमिसुधार तथा मालपोत कार्यालयमा सोलार ईन्भटर पावर व्याकपको जडान कार्य गरेको हो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख हमालले प्रायः मालपोत कार्यालयबाट सेवाग्राहीको “काम भएन बती भएन“ भन्ने गुनासो आइरहने भएकाले सोलार पावर सहयोग गरिएको बताए।

मालपोत कार्यालयले सोलार पावर जडान भए पश्चात् बत्ती गएको अवस्थामा पनि सेवाग्राहीको काम गर्न सहज हुने जनाएको छ।