Logo
१८ कात्तिक २०८२, मंगलबार

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

अक्षरपाटी
२०८० माघ ११ , बिहीबार ०१:०१ मा प्रकाशित

मनाङ,११ माघ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो। हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए। जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए।

लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ। खोलानालामा पूर्णरूपमा पानी जमेको छ। हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन। सवारीसाधनको आवतजावत न्यून छ। पिउने पानी जोहो गर्नै मुस्किल छ।” चिसो पनि उसैगरी बढ्दै गएको उनले बताए। चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए।

मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उनले बताए। अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले जानकारी दिए। उनले भने, “अहिले सुरक्षा निकाय र सामान्य सेवाबाहेकका अन्य बन्दजस्तै नै छन्।”

यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ। जसले गर्दा बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ। हाल जिल्लाभर चार हजार तीन सय ९७ चौँरी रहेको भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए। जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि जिल्ला फर्कन थाल्दछन्। –रासस

ट्रेन्डिङ ( साप्ताहिक )