Logo
८ पुस २०८१, सोमबार

शिक्षा विभाग प्रमुखसँग काठमाडौं महानगरले सोध्यो स्पष्टीकरण

अक्षरपाटी
२०८० माघ १४ , आईतबार ०५:०१ मा प्रकाशित

काठमाडौं, १४ माघ । काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रबार शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

वडा नम्बर १० स्थित रत्नराज्य स्कुललाई विज्ञान संकाय संचालन गर्न कोइरालाले स्वयं अनुमति दिएको भेटिएको छ,’ शाहले भने, ‘अनुमति दिने अधिकार नगर शिक्षा समितिलाई हुन्छ जसको अध्यक्ष मेयर हुने व्यवस्था छ। तर उनले आफ्‍नो अधिकार नभएको क्षेत्रमा पनि अनुमति दिएको भेटिएको छ।’

त्यसबारे बुझ्न प्रमुख प्रशासकीय अधिकृतले कोइरालासँग स्पष्‍टीकरण सोधेको हो। कोइरालाले आइतबार स्पष्टीकरण बुझाएका छन्।

महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्य हुँदा कोइराला काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख थिए। त्यसबेला पनि कागज कीर्ते भएको भेटिएको भन्दै उनको चितवनमा सरूवा भएको सचिवालयको दाबी छ। कोइराला १० महिनाअघि काठमाडौं महानगरमा शिक्षा विभाग प्रमुख भएर आएका थिए।